सिरहा | सिरहामा सोमबार साँझ आएको हावाहुरीका कारण घरको छतको रेलिङ भत्किएर खस्दा एक महिलाको ज्यान गएको छ ।
मिर्चैया नगरपालिका–११, सितापुर टोलकी करिब ७५ वर्षीया कारीदेवी महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीका अनुसार हावाहुरीका कारण घरको छतमा लगाइएको इँटाको रेलिङ भत्किएर खस्दा उनी गम्भीर घाइते भएकी थिइन्। घरको बरन्डामा बसिरहेको अवस्थामा अचानक रेलिङ भत्किएर उनको टाउकोमा लागेको थियो ।
घाइते अवस्थामा उनलाई उपचारका लागि मिर्चैयास्थित मंगलम अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी तथा प्रवक्ता रमेशबहादुर पालले जानकारी दिए ।
उनका अनुसार अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।