सेवा प्रवाहलाई थप छरितो, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित जीतपुर–सिमरा उपमहानगरपालिका ले वडास्तरमै प्रशासनिक अधिकार विस्तार गरेको छ ।
प्रमुख प्रशासनिक अधिकृत डमरु प्रसाद निरौलाद्वारा हस्ताक्षरित निर्णयअनुसार अब अधिकांश दैनिक सेवाहरू वडा कार्यालयबाटै उपलब्ध हुने भएका छन् ।
यस व्यवस्थापछि सामान्य प्रशासनिक कामका लागि सेवाग्राहीले मुख्य कार्यालय धाउनुपर्ने बाध्यता उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ । स्थानीय बासिन्दाले आफ्नै नजिकको वडा कार्यालयबाटै सेवा लिन पाउने हुँदा समय, खर्च र झन्झटमा कमी आउने उपमहानगरपालिकाको दाबी छ ।
निर्णयअनुसार वडा कार्यालयहरूले एक करोड रुपैयाँसम्मका व्यवसाय दर्ता, नवीकरण तथा इजाजतपत्र प्रदान गर्ने अधिकार पाएका छन् । यसले स्थानीय स्तरमै उद्यमशीलता प्रवर्द्धन हुने र व्यवसाय सञ्चालन प्रक्रिया सरल बन्ने विश्वास गरिएको छ ।
त्यसैगरी घरधनी र भाडामा बस्ने पक्षबीचको सम्झौता अभिलेखीकरण, बहाल करको अनुगमन तथा असुली, र राजस्व व्यवस्थापनमा देखिने समस्या समाधान तथा समन्वय गर्ने जिम्मेवारी पनि वडालाई दिइएको छ । यसबाट राजस्व संकलन प्रणाली थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
नक्सा पाससम्बन्धी सेवामा समेत सुधार ल्याइएको छ । अब प्राविधिक विवरण तथा आवश्यक कागजात वडा कार्यालयमै सुरक्षित राखिनेछन् भने नक्सा अभिलेख नवीकरण तथा स्वीकृतिका लागि प्रारम्भिक प्रक्रिया वडाबाटै अघि बढाइने व्यवस्था गरिएको छ । यसले भवन निर्माणसम्बन्धी प्रक्रियामा हुने ढिलाइ कम गर्ने लक्ष्य लिएको छ ।
व्यक्तिगत घटनाहरू—जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाइँसराइ—सम्बन्धी दर्ता तथा अभिलेख व्यवस्थापन वडा कार्यालयबाटै हुने भएको छ । यी विवरणहरू अनलाइन प्रणाली र भौतिक दर्ता किताब दुवैमा सुरक्षित रूपमा राखिनेछन् । साथै जनसंख्या व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता तथा सम्बन्धित आवधिक प्रतिवेदन तयार पार्ने जिम्मेवारी पनि वडालाई दिइएको छ ।
उपमहानगरपालिकाका अनुसार डिजिटल प्रणालीको प्रयोग बढाउँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाइनेछ । यसका लागि वडा कर्मचारीलाई आवश्यक तालिम, प्रविधि र स्रोतसाधन उपलब्ध गराउने तयारी भइरहेको जनाइएको छ ।
स्थानीयवासीहरूले यस कदमलाई सकारात्मक रूपमा लिँदै सेवा घरदैलोमै पुग्ने विश्वास व्यक्त गरेका छन् । स्थानीय सरकारको विकेन्द्रीकरणको अवधारणालाई व्यवहारमा उतार्ने दिशामा यो निर्णय महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।