जिल्ला प्रहरी कार्यालय बारा ले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रही लुकिछिपी बस्दै आएका चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले विशेष अभियानअन्तर्गत उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई बारा जिल्ला अदालतको फैसलाअनुसार फरार प्रतिवादीका रूपमा खोजी गरिएको थियो ।
चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना तोकिएका बारागढी गाउँपालिका–४ का ४० वर्षीय लक्ष्मण साह कानुलाई अस्थायी प्रहरी पोस्ट लङगडाचौकीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
त्यस्तै, लागूऔषध (गाँजा) मुद्दामा १५ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएका जितपुरसिमरा उपमहानगरपालिका–२२ का सुरेश घलानलाई इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
यसैगरी, चेक अनादर मुद्दामा १ हजार रुपैयाँ जरिवाना तोकिएका महागढीमाई नगरपालिका–८ का ३५ वर्षीय रामकिशोर प्रसाद यादवलाई प्रहरी चौकी बरियारपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै, वनसम्बन्धी मुद्दामा अदालतबाट १० दिन कैद सजाय तोकिएका जितपुरसिमरा उपमहानगरपालिका–१ का ६० वर्षीय गंगा बहादुर मोक्तानलाई प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बारा जिल्ला अदालतमा पेश गरिएको बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिएका छन् ।
प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइरहेको र अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाइने जनाएको छ ।