मधेश प्रदेश सरकारप्रति जनमत पार्टीको समर्थन कायम रहेको भन्दै पार्टीले प्रदेश प्रमुखलाई अर्को पत्र पठाएको छ ।
समर्थन फिर्ता लिएको भनिएको पत्र दर्ता भएको केही घण्टामै नयाँ पत्र बुझाइएपछि राजनीतिक अन्योल सिर्जना भएको छ । जनमत पार्टीका संसदीय दलका सचेतक चन्दन कुमार सिंहले प्रदेश प्रमुखको कार्यालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएका थिए । तर सो घटनाको करिब १२ घण्टा नबित्दै पार्टीको आधिकारिक धारणा फरक देखिएको छ ।
जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश प्रमुखलाई अर्को पत्र पठाउँदै मधेश प्रदेश सरकारप्रति पार्टीको समर्थन कायमै रहेको स्पष्ट पारेका छन् ।
त्यसैगरी नेता यादव र जनमत पार्टीबाट मधेश प्रदेश सरकारमा सहभागी मन्त्री बसन्त कुसवाहाले आज प्रदेश प्रमुखलाई भेटी समर्थन कायम रहेको पत्र औपचारिक रूपमा बुझाएका छन् ।
पत्रमा यादवले आफू नै जनमत पार्टी संसदीय दलको आधिकारिक नेता रहेको उल्लेख गर्दै पार्टीको बैठक, निर्णय तथा जानकारीबिना गरिएको कुनै पनि समर्थन फिर्ता निर्णय आधिकारिक नभएको दाबी गरेका छन् ।
पत्रमा उनले लेखेका छन्, “म जनमत पार्टी संसदीय दलको नेता महेश प्रसाद यादव रहेको छु । मेरो जानकारी तथा संसदीय दलको बैठक बिना गरिएको कुनै पनि निर्णय आधिकारिक नरहेकाले वर्तमान मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको नेतृत्वको सरकारलाई जनमत पार्टीको आधिकारिक समर्थन कायम रहेको व्यहोरा जानकारी गराउँछु ।”
यस घटनाले मधेश प्रदेश सरकारको राजनीतिक समीकरणबारे थप अन्योल सिर्जना गरेको छ । समर्थन फिर्ता र पुनः समर्थनको दुई फरक पत्र सार्वजनिक भएपछि प्रदेश राजनीतिक वृत्तमा चासो बढेको छ ।
प्रदेश प्रमुख कार्यालयले दुवै पत्र अध्ययन गरिरहेको बताइएको छ भने औपचारिक निर्णयका लागि दलको आधिकारिक प्रक्रिया र कागजात आवश्यक पर्ने जनाइएको छ ।