सर्लाहीको बागमती नगरपालिका–२ धरहरा चोकमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।
नयाँ रोडबाट बरहथवा तर्फ जाँदै गरेको बिआर ३३ बिएफ ७८२१ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका स्थानीय ७५ वर्षीय हरि बहादुर अधिकारीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई तत्काल उपचारका लागि वीरगंजतर्फ पठाइएको थियो । तर थप उपचारका लागि बारास्थित एल.एस. न्युरो अस्पताल पुर्याइएका उनलाई चिकित्सकले साँझ ७:२५ बजे मृत घोषणा गरेका हुन् ।
प्रहरीका अनुसार मोटरसाइकल र चालक गोडैता नगरपालिका–२ बस्ने २० वर्षीय शिवम कुशवाहलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्थानीयवासीका अनुसार उक्त सडकखण्डमा सवारीसाधनको गति नियन्त्रण नहुँदा दुर्घटना हुने क्रम बढ्दो छ । प्रहरीले सवारी चालकलाई ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ ।