अस्पतालको उपचार शुल्क तिर्न नसकेर वीरगंज–३१ लक्ष्मीपुरका २० वर्षीय युवक दीपलाल महतो नुनिया १० दिनदेखि घर जान पाएका छैनन् ।
घरमा चरा मार्न राखिएको विष खाएर सिकिस्त अवस्थामा रहेका उनलाई साउन २२ गते वीरगंजको गण्डक हस्पिटलमा भर्ना गरिएको थियो । उपचारपछि होश आएर डिस्चार्ज हुने बेला उपचार शुल्क तिर्न नसकेर अस्पतालमै बस्न बाध्य भएका छन् ।
दीपलालका बुबा सत्यनारायण महतो नुनियाका अनुसार, उपचार र औषधिबापतको रु दुई लाख ५४ हजारको बिल आइपरेको छ। तर, आर्थिक अवस्था कमजोर भएकोले उनीहरुले हालसम्म रु ७५ हजार मात्र तिर्न सकेका छन् । बाँकी रहेकाे एक लाख ७९ हजार रकम जुटाउन नसक्दा दीपलाल गण्डक हस्पिटल बाट घर जान पाएका छैनन् ।
नुनिया परिवार ऐलानी जग्गामा बसोबास गर्दै आएको र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएको छ । अस्पताल प्रशासन प्रमुख अकरम हुसेनका अनुसार, अस्पताल बिरामीमैत्री भए पनि उपचार खर्च मिनाहा गर्न सक्ने अवस्था नरहेको बताउँदै, बिलमा छुट दिन सकिने तर पूरै मिनाहा गर्न नसकिने जनाएका छन् ।
दीपलालको उपचारका लागि रकम नतिर्दासम्म उनी घर जान नसक्ने स्थितिमा छ ।