वीरगंज महानगरपालिका ले लामो समयदेखि कारोबार नगरी निष्क्रिय रहेका करिब ८८ वटा सहकारी संस्थाको दर्ता खारेज गर्ने प्रक्रिया अघि बढाएको छ ।
महानगरपालिकाका विभिन्न वडामा सञ्चालनमा रहेका ती सहकारी संस्थाहरूले लामो समयदेखि कारोबार नगर्नुका साथै आवश्यक प्रतिवेदनसमेत पेश नगरेकाले खारेजी प्रक्रिया सुरु गरिएको हो ।
शुक्रबार महानगरपालिकाको आर्थिक विकास महाशाखाले सूचना जारी गर्दै सहकारी ऐन तथा नियमावलीअनुसार बुझाउनुपर्ने मासिक प्रगति प्रतिवेदन, वार्षिक साधारण सभाको निर्णय प्रतिलिपि, वार्षिक लेखापरीक्षण प्रतिवेदन तथा कोपोमिसमा विवरण प्रविष्ट नगरी पूर्ण रूपमा सम्पर्कविहीन रहेका सहकारी संस्थामाथि कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।
महानगरपालिकाको प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख सुनिल कुमार कर्ण का अनुसार वीरगंज महानगरपालिका को सहकारी ऐन, २०७४ को दफा ६६ उपदफा ३ बमोजिम कारबाही गर्न आवश्यक देखिएकाले दफा ६६ उपदफा ४ अनुसार सुनुवाइका लागि ३५ दिने सूचना प्रकाशित गरिएको हो ।
सूचना जारी भएको मितिले ३५ दिनभित्र महानगरपालिकाको सम्पर्कमा नआउने सहकारी संस्थाहरूको दर्ता खारेज गरिने महानगरपालिकाले जनाएको छ ।



