वीरगंजको नारायणी अस्पतालमा आमा सुरक्षा कार्यक्रमअन्तर्गत यातायात खर्च बापतको भत्ता वितरणमा देखिएको समस्याका कारण सेवाग्राहीहरू मर्कामा परेका छन् ।
साउन १ गतेदेखि आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरी महिलाले पाउने यातायात खर्च (भत्ता) वितरण रोकिँदा १ हजारभन्दा बढी सेवाग्राही प्रभावित भएका हुन् । सुत्केरी महिलालाई डिस्चार्ज गर्ने बेला भत्ता दिनुपर्ने निर्देशिका भए पनि खातामा देखिएको समस्या समाधान नहुँदा यस क्षेत्रका सेवाग्राहीले ठूलो सास्ती खेप्नुपरेको छ ।
गत असार २४ मा अस्पतालको खाता बन्द भएपछि नयाँ आर्थिक वर्षमा भत्ता वितरण कार्य रोकिएको अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकले बताएका छन् । कोलनिकाले खाता नखोलिदिएका कारण विग्त ढेड महिनादेखी हालसम्म १ हजार ४८ जना सुत्केरी महिलाले यो सुविधा नपाएको अस्पताल प्रशासनको भनाई रहेको छ ।
भत्ता वितरणको प्रक्रिया छिटो र सहज बनाइदिन सेवाग्राहीहरूले माग गरेको छ ।