चामल भनेर झुक्याएर चिनीको तस्करी हुने गरेको खुलासा भएको छ ।
तस्करीविरुद्ध आक्रामक कारबाही चलाइरहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो समय चामलको नाममा अवैध रूपमा चिनी भित्र्याउने क्रम बढेको पाएको छ । भैरहवा भन्सार कार्यालयका अनुसार एक साताभित्र सीमा क्षेत्रबाट अवैध रूपमा भित्र्याउन लागिएको ४२० बोरा चिनी बरामद गरिएको छ ।
बिहीबार मात्र गस्तीमा खटिएको टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट २१० बोरा अवैध चिनी बरामद गरेको हो ।
चामल भनेर ट्रकमा लुकाएर तस्करी
चामलले भरिएको भनिएको ट्रकबाट १० मेट्रिक टन चिनी बरामद गरिएको भन्सार प्रमुख नारद गौतमले जानकारी दिएका छन् । “आज बिहान करिब २स्३० बजे बेथरी क्षेत्रबाट ठूलो परिमाणमा अवैध चिनी बरामद भएको छ,” गौतमले भने, “२१० बोरामा रहेको उक्त चिनी भारतबाट नेपालमा चामल भनेर ल्याइँदै थियो।”
चिनी बोकेका लु २ ख २८३६ नम्बरको ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको गौतमले बताए । प्रारम्भिक सोधपुछका क्रममा चालकले चिनी बोकेर ट्रक पोखरा जान लागेको बताएका छन्।
भन्सार प्रमुख गौतमका अनुसार भदौ ८ गते शनिबार सोही क्षेत्रबाट अर्को ट्रकमा पनि २१० बोरा चिनी बरामद गरिएको थियो । ग २ ख १२५० नम्बरको ट्रकमा लोड गरिएको उक्त चिनी नियन्त्रणमा लिई चालकलाई अनुसन्धानको क्रममा प्रहरी हिरासतमा पठाइएको उनले बताए ।