औद्योगिक तथा व्यापारिक नगरी पर्सा र बारामा राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन गरिने भएको छ ।
“अर्थतन्त्रको मापनका लागि आर्थिक गणना” भन्ने नारासहित यो गणना सञ्चालन गर्न लागिएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेल ले सम्बन्धित निकायलाई आर्थिक गणनाका लागि आवश्यक समन्वय र सहजीकरण गर्न अनुरोध गर्नुभएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत जिल्ला आर्थिक गणना कार्यालय पर्साका अनुसार गणकहरू खटाएर विसं २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म तथ्याङ्क संकलन गरिनेछ । यस अवधिमा प्रत्येक उद्योग, व्यापार व्यवसाय, शैक्षिक प्रतिष्ठान, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था तथा अन्य सेवा प्रदायक संस्थाहरूमा पुगेर विवरण संकलन गरिनेछ । सहायक प्रजिअ पोखरेलले आ–आफ्नो प्रतिष्ठानका गतिविधिसम्बन्धी सत्यतथ्य विवरण उपलब्ध गराई आर्थिक गणनालाई सफल बनाउन सबै सरोकारवालासँग आग्रह गर्नुभएको छ । उहाँले उपलब्ध गराइने विवरण कर प्रयोजन वा अन्य कुनै निकायमा प्रमाणका रूपमा प्रयोग नहुने स्पष्ट पार्दै तथ्याङ्क ऐन, २०७९ अनुसार पूर्ण रूपमा गोप्य रहने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो राष्ट्रव्यापी कार्य हो । सबै स्थानीय तह, उद्योग वाणिज्य संघ तथा अन्य सबै निकायहरूले सहयोग गर्न आवश्यक छ । ढुक्क भएर आफ्नो व्यवसायको सही विवरण उपलब्ध गराउनुहोस् ।” आर्थिक गणनामा दर्ता भएका वा नभएका, स्थायी वा अस्थायी सबै प्रकारका आर्थिक गतिविधि गर्ने प्रतिष्ठान तथा व्यवसायहरू सहभागी हुन सक्ने जनाइएको छ ।