चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापार ९ खर्ब ३७ अर्ब रुपैयाँ नाघेको छ । साउनदेखि कात्तिकसम्म नेपालले कुल ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको हो ।
भन्सार विभागका अनुसार यो व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.३३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
तर, वैदेशिक व्यापार बढे पनि आयात र निर्यातबीचको ठूलो अन्तरका कारण नेपालको व्यापार घाटा उच्च देखिएको छ । चालु आर्थिक वर्षको कात्तिकसम्म नेपालले ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।
विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.७७ प्रतिशत बढी हो। गत वर्षको साउनदेखि कात्तिकसम्म ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
त्यस्तै, चालु आर्थिक वर्षको कात्तिकसम्म नेपालबाट १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.४८ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा ९३ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो ।
आयात र निर्यात दुवैमा वृद्धि भए पनि आयातको तुलनामा निर्यातको परिमाण निकै कम रहेकाले नेपालको वैदेशिक व्यापारमा घाटा बढ्दै गएको देखिन्छ ।