पर्सा राष्ट्रिय निकुञ्जले घाइते तथा जोखिममा परेका वन्यजन्तुको तत्काल उद्धारका लागि ‘वन्यजन्तु उद्धार टोली’ गठन गरेको छ ।
यसअघि उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जबाट टोली बोलाउनुपर्ने बाध्यता रहे पनि अबदेखि स्थानीय स्तरमै उद्धार सम्भव हुने भएको छ ।
निकुञ्जले वैशाख पहिलो सातादेखि आफ्नै उद्धार टोली सञ्चालनमा ल्याएको हो । यस टोलीको व्यवस्थापनसँगै घाइते वन्यजन्तुको उद्धार तथा उपचार कार्य प्रभावकारी र छिटो हुने भएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिले वन्यजन्तु घाइते वा दुर्घटनामा पर्दा चितवन राष्ट्रिय निकुञ्जबाट विशेषज्ञ टोली बोलाउनुपर्ने अवस्था थियो, तर अहिले स्थानीय स्तरमै टोली उपलब्ध भएकाले उद्धार कार्यमा सहजता आएको छ ।
उद्धार टोलीमा पशु चिकित्सक, प्राविधिक तथा सवारी चालकसहितको जनशक्ति रहेको छ । आवश्यक परे टोली बारा, पर्सा, रौतहट र मकवानपुरसम्म पुगेर उद्धार कार्य गर्ने गरेको पनि निकुञ्जले जनाएको छ ।
निकुञ्जका अनुसार चालु आर्थिक वर्षको चैत महिनासम्म पाटेबाघ १, चित्तल ६, गोमन सर्प १००, किङ कोब्रा २५, अजिङ्गर १५, सालक १ तथा अन्य ३ वटा वन्यजन्तुको उद्धार गरिएको छ । उद्धार गरिएका वन्यजन्तुलाई उपचारपछि पुनः प्राकृतिक बासस्थानमा छाडिएको निकुञ्जले जनाएको छ ।