पर्सा राष्ट्रिय निकुञ्जले त्रिभुवन राजपथअन्तर्गत पथलैया–अमलेखगञ्ज सडक विस्तारका क्रममा वन्यजन्तुको सुरक्षाका लागि दुई वटा ‘ओभरपास’ निर्माण गर्न सडक विभागसँग प्रस्ताव गरेको छ ।
निकुञ्जका अनुसार सो सडकखण्डको करिब ८ किलोमिटर क्षेत्र निकुञ्जको संवेदनशील कोर एरिया पर्ने भएकाले सवारीसाधनको अत्यधिक आवागमनका कारण वन्यजन्तु दुर्घटनामा पर्ने जोखिम उच्च रहेको छ । त्यसैले सडक विस्तारसँगै कम्तीमा दुई वटा ओभरपास निर्माण गर्न सुझाव दिइएको हो । निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले उक्त क्षेत्र अत्यन्त संवेदनशील भएकाले सडक विस्तार गर्दा वन्यजन्तुमैत्री संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनका अनुसार हालसम्म सवारीसाधनको ठक्करबाट राजमार्ग क्षेत्रमा दुई दर्जनभन्दा बढी वन्यजन्तुको मृत्यु भइसकेको छ । ओभरपास निर्माण भएमा यस्तो क्षति केही हदसम्म न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । साथै, अमलेखगञ्ज–पथलैया सडकखण्डमा बेलाबखत हात्तीले सवारीसाधनलाई लखेट्ने तथा मानव–वन्यजन्तु द्वन्द्व समेत देखिने गरेको छ । चालु आर्थिक वर्षको चैतसम्म मात्रै सवारी दुर्घटनामा एक चितुवाको मृत्यु भएको निकुञ्जले जनाएको छ । त्यस्तै, सोही अवधिमा दुई जरायो, पाँच चित्तल र १५ बाँदरको सवारी दुर्घटनामा मृत्यु भएको तथा तीन वटा जनावर प्राकृतिक कारणले मरेको पनि निकुञ्जले जनाएको छ ।
सूचना अधिकारी भगतले वन्यजन्तु संरक्षणका लागि ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताउँदै चालकलाई थप सचेतना प्रदान गर्न सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गरे । सडक डिभिजन हेटौँडाका इन्जिनियर भोलाप्रसाद साहले निकुञ्जको सुझावअनुसार ओभरपास निर्माणसम्बन्धी प्रस्ताव सडक विभागमा पठाइएको जानकारी दिएका छन् ।