पर्सा जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सुधारोन्मुख देखिएको छ ।
गत वर्षको तुलनामा यस वर्ष उत्तीर्ण हुने विद्यार्थीको संख्या वृद्धि भएको शिक्षा विकास तथा समन्वय इकाइ पर्साले जनाएको छ । इकाइ प्रमुख मोतीप्रसाद भट्टराईका अनुसार यस वर्ष नियमिततर्फ कुल ८ हजार ४१२ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये ३ हजार ३४४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । उनका अनुसार जिल्लाको कुल उत्तीर्ण प्रतिशत ३९ दशमलव ७५ रहेको छ । गत वर्ष पर्साबाट ३२ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए ।
इकाइले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै विद्यार्थी ५० देखि ६० प्रतिशत उपलब्धि समूहमा रहेका छन् । यस समूहमा ९४९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै ७० देखि ८० प्रतिशत अंक ल्याउने ८९२ जना, ४० देखि ५० प्रतिशत अंक ल्याउने ७१८ जना विद्यार्थी रहेका छन् ।
यस वर्ष ९० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थी संख्या सबैभन्दा कम अर्थात् १० जना रहेको इकाइ प्रमुख भट्टराईले जानकारी दिए। यस्तै ८० देखि ९० प्रतिशत अंक ल्याउने ४४७ जना विद्यार्थी रहेका छन् । त्यसैगरी ६० देखि ७० प्रतिशत उपलब्धि हासिल गर्ने २८९ जना तथा ३५ देखि ४० प्रतिशत उपलब्धि ल्याउने ३९ जना विद्यार्थी उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाइ पर्साको तथ्यांकमा उल्लेख छ ।
शिक्षा क्षेत्रका सरोकारवालाले पर्सामा यस वर्षको नतिजा सुधार हुनु सकारात्मक संकेत भएको बताएका छन् ।