राष्ट्रिय वाणिज्य बैंक पूर्व कर्मचारी संघ इकाई समिति वीरगञ्जले एक कार्यक्रमको आयोजना गरी २६ औँ वार्षिकोत्सव मनाएको छ ।
वीरगञ्जस्थित वाणिज्य बैंकको प्रादेशिक कार्यालयको सभा कक्षमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान गर्नुका साथै ८० वर्ष नाघेका दुई पूर्व कर्मचारीलाई सम्मान गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक मधेश प्रदेश कार्यालयका प्रमुख कमलेश ठाकुर र वीरगञ्ज शाखाका प्रमुख नरसिंह नारायण यादवे संयुक्त रूपमा वरिष्ठ पूर्व कर्मचारीद्वय रतन कुमार श्रेष्ठ र नारायणी देवी श्रेष्ठलाई दोसल्ला र कदर पत्रसहित सम्मान गरेका हुन् ।
“लामो समयदेखि काम गरेको संस्थाबाट यो उमेरमा आएर यसरी सम्मानित हुँदा खुसी लागेको छ,” पूर्व कर्मचारी नारायणी देवी श्रेष्ठले भनिन् । उनले संघको हकहितका लागि आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने बताइन् ।
कार्यक्रममा वक्ताहरूले आर्थिक अवस्था कमजोर भएका सदस्यहरूलाई सहयोग गर्न तथा संघलाई आर्थिक रूपमा सशक्त बनाउन कोष स्थापना गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । यस्तै, आफूले कार्य अवधिमा सिकेको सिपलाई आगामी दिनमा कसरी प्रयोग गर्ने विषयमा छलफल गर्नुपर्ने कुरामा पनि जोड दिएका थिए ।
राष्ट्रिय वाणिज्य बैंक पूर्व कर्मचारी संघका अध्यक्ष महेन्द्र दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका सचिव जयसुदन श्रेष्ठ, वाणिज्य बैंकका पूर्व क्षेत्रीय प्रबन्धक राजेन्द्र जैसवाल, पूर्व कर्मचारी मृनाल अधिकारी, राजु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।