धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको छ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका-७, लक्ष्मीनियामा रहेको पोखरीमा बुधबार साँझ तीन बालक डुबेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जानकारी दिएका छन् । मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, ८ वर्षीय आयुश साह, र १४ वर्षीय सुशान्त साह रहेका छन् ।
प्रहरीका अनुसार, उनीहरू आफ्ना हजुरबुबा महावीर साहको घरमा भोज खान आएका थिए । बुधबार महावीर साहको घरमा वर्षीको भोज थियो । डुब्ने बालकहरू महावीर साहका तीन छोरीका जेठा छोराहरू रहेको प्रहरीले जनाएको छ । तीनै बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
लक्ष्मीनिया गाउँपालिका-७ का वडाध्यक्ष गंगा साहका अनुसार, सबैजना भोजमा व्यस्त रहेका बेला ती बालकहरू पोखरीमा पौडी खेल्न जाँदा डुबेको हुन सक्ने आशंका छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।