राष्ट्रिय सरसफाइ सप्ताह अन्तर्गत वीरगंज महानगरपालिका र ग्रिनिसिटी सामुदायिक प्रहरी सेवा केन्द्रले आज वीरगंजको घण्टाघर परिसरमा बृहत् सरसफाइ कार्यक्रम सञ्चालन गरेका छन् ।
सङ्घीय सरकारले सप्ताहव्यापी रूपमा राष्ट्रिय सरसफाइ सप्ताह मनाउन अनुरोध गरेअनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो । ग्रिनिसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले सरसफाइ सप्ताह अन्तर्गत दैनिक रूपमा सरसफाइ अभियान सञ्चालन भइरहेको जानकारी दिएका छन् ।
उनका अनुसार वीरगंजलाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यले वर्षभरि नै सरसफाइ तथा वृक्षरोपणका कार्यक्रम गर्दै आइरहेको बताए । वीरगंजकाे ऐतिहासिक घण्टाघर सन् १९७९ फेब्रुअरी ७ मा स्थापना गरिएको हो ।
स्थानीय ज्येष्ठ नागरिकका अनुसार जापानको योनागो सहरका विद्यार्थीहरूले एक दिनको खाजाखर्च बचत गरेर घण्टाघर निर्माण तथा घडी जडानका लागि आर्थिक सहयोग गरेका थिए ।