गायन क्षेत्रमा भविष्य बनाउन चाहने विद्यार्थीहरूका लागि गायत्री इन्टरटेन्मेन्ट एण्ड म्यानेजमेन्ट सर्भिसेजले "वीरगंज स्कुल आइडल" कार्यक्रम आयोजना गर्ने भएको छ ।
यस प्रतियोगितामा कुनै पनि निजी वा सरकारी विद्यालयका विद्यार्थीहरू निःशुल्क रूपमा सहभागी हुन सक्ने आयोजकले जनाएको छ । आफ्नो आवाज र गायकी कौशलले धेरैलाई प्रभावित बनाएका गायक सद्दाम हुसेनको संयोजकत्वमा हुन गइरहेको प्रतियोगिताको पहिलो चरणको अडिसन यही भदौ २९ गते वीरगंज पब्लिक कलेजको पुरानो भवन, पानीटंकीमा हुने छ ।
अडिसनमा सहभागी हुन कुनै शुल्क नलाग्ने बताइएको छ । आयोजकका अनुसार कार्यक्रमको उद्देश्य नयाँ प्रतिभा उत्पादन गर्नुका साथै क्षमतावान व्यक्तिलाई गायन क्षेत्रमा अघि बढाउनु हो । प्रतियोगिता तीन चरणमा सम्पन्न हुनेछ जसमा अडिसन, गला राउण्ड र फाइनल चरण समावेश छन् ।
प्रतियोगिताका सबै चरणहरू माई टेलिभिजनमा प्रसारण गरिने छ भने अन्तिम प्रतिस्पर्धा माई टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ । प्रतियोगिताले वीरगंजमा रहेका गायन क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न र भविष्यमा अगाडि बढ्न मद्दत गर्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा विजयी हुनेलाई आकर्षक पुरस्कार तथा ट्रफिको व्यवस्था गर्ने आयोजकले जनाएको छ ।
गायन क्षेत्रमा नयाँ प्रतिभालाई प्रोत्साहित गर्न र उदीयमान कलाकारहरूको क्षमता उजागर गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरूलाई आयोजकले सहभागिताका लागि आव्हान गरेको छ ।