जिल्ला प्रहरी कार्यालय पर्साले बोक्सीको आरोप लगाई एक महिलामाथि कुटपिट तथा गालीगलौज गरेको अभियोगमा तीन जना महिलालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका–३२ चोर्नी टोलस्थित गहुँबारीमा बाली हेर्न गएकी ७२ वर्षीया कोशिलिया अहिरिनमाथि स्थानीय तीन महिलाले बाटो छेकेर झुक्यानमा पारी कुटपिट गरेका थिए ।
पीडितले दिएको जाहेरी अनुसार, आरोपितहरूले उनलाई “भूत–प्रेत लगाई बिरामी पारेको” भन्दै गालीगलौज गर्दै चप्पलले समेत कुटपिट गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धानका क्रममा सो घटनामा संलग्न व्यक्तिहरूलाई वीरगंज महानगरपालिका–८ घण्टाघर क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–२२ चोर्नी बस्ने २८ वर्षीया पिंकी देवी, ४४ वर्षीया पानामती देवी र ५४ वर्षीया शान्ति देवी धानुक रहेका छन् ।
उनीहरूलाई “बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२” अनुसार ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।