बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ४९ वटा संस्थागत विद्यालय (बोर्डिङ स्कुल) को वर्गीकरण सम्पन्न गरेको छ ।
उपमहानगरपालिकाको शिक्षा शाखाले गरेको अनुगमन तथा मूल्याङ्कनका आधारमा विद्यालयहरूको वर्ग निर्धारण गरिएको हो । विद्यालयको भौतिक संरचना, कक्षाकोठाको अवस्था, खेलमैदान, शौचालय, खानेपानी, सुरक्षा मापदण्ड, प्रयोगशाला लगायतका पूर्वाधारलाई आधार मानेर वर्गीकरण गरिएको शिक्षा शाखा अधिकृत हरिष भट्टले जानकारी दिनुभयो । अनुगमन टोलीले विभिन्न चरणमा विद्यालय निरीक्षण गरी प्राप्त विवरणका आधारमा वर्ग निर्धारण गरेको उहाँले बताउनुभयो ।
वर्गीकरणअनुसार वडा नं. ४ स्थित सेन्ट अल्फान्सस स्कुल मात्रै ‘ख’ वर्गमा परेको छ भने बाँकी ४८ वटा विद्यालय ‘ग’ वर्गमा परेको उपमहानगरपालिकाले जनाएको छ । न्यूनतम मापदण्ड पूरा गर्न नसकेका विद्यालयहरूलाई आवश्यक सुधार गर्न निर्देशन दिइएको छ ।
अधिकृत भट्टका अनुसार विद्यालयको भौतिक संरचना सुधार नगरे वर्ग घटाउन सकिने र सुधार भएमा स्तर बढाउन सकिने व्यवस्था गरिएको छ । यो उपमहानगरपालिकाको पहिलो अभ्यास भएकाले आगामी दिनमा देखिने कमजोरी सुधार गर्दै अघि बढिने पनि उहाँले बताउनुभयो । शिक्षा शाखाका अनुसार संस्थागत विद्यालयहरूको सेवा, सुविधा र पूर्वाधारलाई व्यवस्थित तथा गुणस्तरीय बनाउन तथा शुल्कमा एकरूपता ल्याउन वर्गीकरण गरिएको हो ।
आगामी दिनमा सुधार नगर्ने विद्यालयमाथि कारबाही प्रक्रिया अघि बढाइने समेत उपमहानगरपालिकाले जनाएको छ । वर्गीकरणपछि विद्यालयहरूलाई आवश्यक सुझाव र सुधारका बुँदाहरू उपलब्ध गराउने तयारी गरिएको छ ।
साथै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नियमित अनुगमनलाई निरन्तरता दिइने बताइएको छ ।