शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ ।
बिहीबार मन्त्रालयमा दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गर्दै उहाँले खेलाडीको मनोबल उच्च बनाउन सरकार निरन्तर प्रयासरत रहेको उल्लेख गर्नुभयो ।
मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा गर्दै त्यसले देशको शिर उँचो बनाएको बताउनुभयो। उपलब्ध सीमित स्रोत र साधनका बाबजुद सरकारले खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा निरन्तर काम गरिरहेको उहाँको भनाइ थियो ।
उहाँले टोलीमा अनुभवी र नयाँ खेलाडीको सन्तुलन रहेकोमा खुसी व्यक्त गर्दै वरिष्ठ खेलाडीलाई नयाँलाई मार्गदर्शन गर्न र नयाँ खेलाडीलाई सिक्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले राज्यले खेलकुद क्षेत्रमा अझै धेरै गर्न बाँकी रहेको भन्दै आत्मआलोचना समेत गर्नुभयो। उहाँले सीमित स्रोतको अधिकतम उपयोग गर्दै खेल क्षेत्रलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले खेलाडीको मेहनत र प्रदर्शनप्रति विश्वास व्यक्त गर्दै यस पटक उपाधि जितेर फर्किने आशा रहेको बताउनुभयो । साथै च्याम्पियन बनेर फर्किएपछि विमानस्थलमा स्वयं स्वागत गर्न उपस्थित हुने प्रतिबद्धता पनि जनाउनुभयो ।
बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारी, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रतिनिधि तथा खेलाडीहरूको उपस्थिति रहेको थियो ।