राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत बारा जिल्लामा हालसम्म करिब ८३ प्रतिशत स्थलगत तथ्याङ्क संकलन सम्पन्न भएको छ ।
जिल्ला आर्थिक गणना कार्यालय, बाराका जिल्ला आर्थिक गणना अधिकारी राजेश दासका अनुसार जिल्लाभर खटिएका गणक तथा सुपरिवेक्षकहरूको सक्रियताका कारण अपेक्षाभन्दा छिटो प्रगति हासिल भएको हो ।
नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयले “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित सञ्चालन गरिरहेको दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत देशभर स्थलगत तथ्याङ्क संकलन कार्य जारी रहेको छ । आर्थिक गणनालाई देशको आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्ने महत्वपूर्ण राष्ट्रिय अभियानका रूपमा लिइएको छ ।
राजेश दासका अनुसार आर्थिक गणना भनेको कुनै निश्चित प्रशासनिक क्षेत्रमा वस्तु उत्पादन वा सेवा प्रवाह गर्ने प्रतिष्ठान तथा व्यवसायहरूको विवरण संकलन गरी आर्थिक तथ्याङ्क उत्पादन गर्ने प्रक्रिया हो । नेपालमा पहिलोपटक वि.सं. २०७५ मा आर्थिक गणना सम्पन्न गरिएको थियो ।
आर्थिक तथ्याङ्क उत्पादन, उद्योग तथा व्यापारमैत्री नीति निर्माण, विकास योजना तयार पार्ने, अर्थतन्त्रको आकार निर्धारण, कुल गार्हस्थ उत्पादन (GDP) मा विभिन्न क्षेत्रको योगदान पहिचान, रोजगारीको अवस्था विश्लेषण तथा लगानी प्रवर्द्धन गर्नु आर्थिक गणनाको मुख्य उद्देश्य रहेको कार्यालयले जनाएको छ ।
दासका अनुसार तथ्याङ्क ऐन, २०७९ अनुसार व्यवसायी तथा प्रतिष्ठानहरूले उपलब्ध गराएको सम्पूर्ण विवरण पूर्ण रूपमा गोप्य राखिनेछ । ती विवरणहरू केवल तथ्याङ्कीय प्रयोजनका लागि सामूहिक रूपमा मात्र प्रयोग गरिने र व्यक्तिगत रूपमा सार्वजनिक नगरिने स्पष्ट पारिएको छ ।
बारामा हालसम्म करिब ८१ देखि ८३ प्रतिशतसम्म स्थलगत तथ्याङ्क संकलन सम्पन्न भइसकेको छ । विशेषगरी कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका तथा महागढीमाई नगरपालिका क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताइएको छ ।
पथलैया औद्योगिक क्षेत्र, सिमरा करिडोर तथा सीमावर्ती व्यापारिक गतिविधिका कारण बारा जिल्ला आर्थिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यहाँ संकलन हुने तथ्याङ्क राष्ट्रिय अर्थतन्त्रका लागि समेत महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
यस आर्थिक गणनामा कृषि, उद्योग, निर्माण, व्यापार, यातायात, वित्तीय सेवा, शिक्षा, स्वास्थ्य, सूचना तथा सञ्चार, होटल तथा आवास सेवा, पेशागत सेवा लगायत सबै प्रकारका औपचारिक तथा अनौपचारिक आर्थिक गतिविधिहरू समेटिएका छन् ।
गणक तथा सुपरिवेक्षकहरूले व्यवसायीहरूको अनुपस्थिति, तथ्याङ्क दिन हिच्किचाहट, फोन सम्पर्कमा कठिनाइ तथा व्यस्त बजार क्षेत्रमा समय व्यवस्थापन जस्ता चुनौती सामना गर्नुपरेको बताएका छन् ।
यद्यपि अधिकांश व्यवसायी तथा स्थानीय नागरिकले सकारात्मक सहयोग गरिरहेको कार्यालयको भनाइ छ । व्यवसायीहरूले वास्तविक तथ्याङ्क संकलनले सरकारलाई उद्योग तथा व्यापार क्षेत्र लक्षित प्रभावकारी नीति निर्माण गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।
जिल्लामा हाल ६६ जना गणक र ९ जना सुपरिवेक्षक परिचालन गरिएको छ । सुपरिवेक्षकहरूले गणकहरूको कामको नियमित अनुगमन, तथ्याङ्क परीक्षण तथा गुणस्तर सुनिश्चित गर्ने कार्य गरिरहेका छन् ।
केही स्थानमा इन्टरनेट तथा प्राविधिक समस्याका कारण डाटा अपलोडमा ढिलाइ भए पनि नियमित समन्वयमार्फत समस्या समाधान भइरहेको जनाइएको छ ।
बाँकी १७ प्रतिशत तथ्याङ्क संकलन कार्य पनि तीव्र गतिमा अघि बढिरहेको र सबै अवस्था अनुकूल रहेमा २०८३ असार ७ गतेभित्र सम्पूर्ण स्थलगत विवरण संकलन सम्पन्न हुने अपेक्षा गरिएको जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ ।