धनियाँ तरकारी वा अचारमा स्वाद र सुगन्ध बढाउन मात्र होइन, औषधीय गुणले समेत भरिपूर्ण हुन्छ ।
आयुर्वेदमा पनि धनियाँको दानालाई स्वास्थ्यका लागि उपयोगी मानिएको छ । यसमा फाइबर, क्याल्सियम, तामा, म्याग्नेसियम, फलाम तथा भिटामिन ए, सी र के जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छन् । धनियाँको दानालाई पानीमा भिजाएर पिउनाले विभिन्न स्वास्थ्य लाभ हुने बताइन्छ । बिहान खाली पेटमा धनियाँ पानी सेवन गर्दा शरीरमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरिएको छ ।
सबैभन्दा पहिले, यसले पाचन प्रणाली सुधार गर्न मद्दत गर्छ। धनियाँ पानीले पाचन इन्जाइम सक्रिय बनाउने भएकाले पेट फुल्ने, अपच र भारीपन जस्ता समस्या कम गर्न सहयोग गर्छ । यसले शरीरलाई प्राकृतिक रूपमा डिटक्स गर्ने काम पनि गर्छ । धनियाँ पानीले शरीरबाट हानिकारक विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्ने विश्वास गरिन्छ । त्यस्तै, तौल नियन्त्रणमा पनि यसले सहयोग गर्न सक्ने बताइन्छ। धनियाँ पानीले बोसो जलाउने प्रक्रियामा सहयोग पुर्याउन सक्छ, यद्यपि केवल यसकै भरमा तौल घट्ने होइन ।
धनियाँ पानीमा हुने एन्टी–इन्फ्लेमेटरी गुणका कारण सुन्निने समस्या कम गर्न मद्दत गर्छ । साथै एसिडिटी तथा पेटसम्बन्धी अन्य समस्या समाधानमा पनि उपयोगी मानिन्छ । यसको सेवनले छालाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । एन्टिअक्सिडेन्ट र एन्टिब्याक्टेरियल गुणका कारण छालालाई डन्डीफोरबाट जोगाउन सहयोग पुग्छ ।
धनियाँ पानी बनाउन एक गिलास पानीमा एक चम्चा धनियाँको दाना रातभर भिजाउनुपर्छ । बिहान त्यसलाई हल्का तताएर खाली पेटमा पिउन सकिन्छ ।