वीरगंज महानगरपालिका भित्र रहेका स्विपर तथा कुचीकारहरू श्रम शोषणविरुद्ध आन्दोलित भएका छन् ।
शुक्रबार बिहानै घण्टाघर अगाडि दर्जनौँ सरसफाइकर्मीहरुले मेयर र सरसफाइ अधिकृत लगायतको विरोधमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । मेयर राजेशमान सिंहले चुनाव ताका ठेक्का प्रक्रियामा रहेको सरसफाइ कार्य महानगरपालिकाले आफैं गर्ने र सरकारले तोकेको तलब सुविधा उपलब्ध गराउने आश्वासन दिएका थिए । तर, सो प्रतिवद्धता अनुसार नभएको भन्दै सरसफाइकर्मीहरु आन्दोलित भएका छन् ।
उनीहरूले विगतमा ठेक्का प्रक्रियामा रहेर १९ हजार तलब बुझ्दै आएकोमा हाल तलब घटाएर ९ हजार कायम गरिदिएको भन्दै विरोध गर्दै आएका छन् । घण्टाघर अगाडी जम्मा भएका सरसफाइकर्मीहरुले मेयर राजेशमान सिंह, फोहोरमैला व्यवस्थापन प्रमुख सरफुदिन मिया र ठेक्का लिएका प्रतिनिधि शिव कुमार गुप्ताको नाम किटान गरेर सरसफाईकर्मीहरुले नाराबाजी गरेका थिए ।
हाल चितवनको एक निजी कम्पनीले सरकारले निर्धारण गरेको तलबभन्दा विपरीत सरसफाईकर्मीहरुको श्रम शोषण गर्दै आएको छ । वीरगंजको सरसफाइको कार्यको जिम्मा लिएको उक्त संस्थाले निजी सङ्घ संस्थाहरूसँग समेत रकम उठाउँदै आएको छ ।
सरसफाईकर्मीहरुले श्रम शोषण तत्काल अन्त्य गरी सरकारले तोकेको मापदण्ड अनुसार तलब सुविधा दिन माग गरेका छन् ।