वीरगंजका वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको बिहीबार काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पतालमा निधन भएको छ ।
मस्तिष्कघातका कारण विगत १४ दिनदेखि उपचाररत पाण्डेको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा अपरान्ह स्वर्गारोहण भएको हो । पाण्डेलाई बाराको सिमरा डुमरबानास्थित आफ्नै घरमा अस्वस्थ भएपछि वीरगंजको नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
सुधार नआएपछि थप उपचारका लागी उनलाई काठमाडौं लगिएको थियो । काठमाडौं लैजाने क्रममा अवस्था सामान्य रहेको र कुरा गर्न सक्ने अवस्थामा रहेका पाण्डेको स्वास्थ्य अवस्था पछि गम्भीर हुँदै गएको थियो । दिवंगत पाण्डेको अन्त्येष्टि बिहीबार नै पशुपति आर्यघाटमा वैदिक विधिअनुसार गरिने परिवारजनले जनाएका छन् ।
मधुमेह र रक्तचापबाट पनि पीडित पाण्डेका एक छोरा र एक छोरी छन् । उनका कान्छा छोरा सिजन पाण्डे माओवादी जनयुद्धका क्रममा राज्यपक्षबाट रौतहटमा मारिएका थिए । जिल्ला प्रशासन कार्यालय पर्सामा जागिरे जीवन बिताएका पाण्डेले जागीर त्यागेर पत्रकारिता सुरु गरेका थिए । निमुखा श्रमजीवीको पक्षमा आवाज उठाउँदै आएका पाण्डेले आफ्नो पत्रकारितामार्फत धेरैको मन जितेका थिए ।
वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधनले पर्सेली पत्रकारिता क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ । चार दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय अग्रज पाण्डेको निधनले पर्सेली पत्रकारिताले एउटा असल अभिभावक गुमाएको छ ।