पर्सा जिल्लाका विभिन्न सबडिभिजन वन कार्यालयहरूले वन अतिक्रमण हटाउन पटक–पटक सूचना जारी गरे पनि अभियान अपेक्षाअनुसार प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन ।
सबडिभिजन वन कार्यालय मनवा, सबडिभिजन वन कार्यालय बडनिहार, सबडिभिजन वन कार्यालय सबैया तथा विन्ध्यवासिनी कोइलाभार साझेदारी वन ले आफ्नो कार्यक्षेत्रभित्र अतिक्रमण हटाउन संयुक्त रूपमा अभियान सञ्चालन गरेका थिए ।
सबडिभिजन वन कार्यालय मनवाका अनुसार कार्यालयको कार्यक्षेत्रभित्र करिब ३५० हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । जसमध्ये सखुवनिया, नयाँ बस्ती, टाँडीटोललगायतका क्षेत्रमा रहेको करिब ११३ हेक्टर अतिक्रमित वन क्षेत्र हालसम्म खाली गराइसकिएको छ ।
त्यस्तै, सबडिभिजन वन कार्यालय बडनिहारको कार्यक्षेत्रभित्र करिब १२ हेक्टर वन क्षेत्र अतिक्रमणमा रहेको छ । उक्त क्षेत्रमा अधिकांश स्थानमा पक्की घर निर्माण भइसकेको जनाइएको छ । कार्यालयले संरचनाको लागत विवरण सङ्कलन गरी सम्बन्धित निकायमा पठाइसकेको र अतिक्रमणकारीलाई सूचना जारी गरिसकेको जनाएको छ । माथिल्लो निकायबाट निर्देशन प्राप्त भएलगत्तै कारबाही अघि बढाइने बडनिहारका अधिकृत उज्ज्वल यादवले बताएका छन् ।
यता, स्थानीयवासीले भने वन कार्यालयमाथि प्रभावशाली व्यक्तिहरूमाथि कारबाही गर्न नसकेको आरोप लगाएका छन् । उनीहरूका अनुसार गरीब किसानले मात्र सानो स्तरमा खेतीपाती गरे पनि ठूला पक्की संरचना निर्माण गर्नेहरूलाई उन्मुक्ति दिइएको छ ।
यसैबीच, सबडिभिजन वन कार्यालय सबैया तथा साझेदारी वन कार्यालय सबैयाले जेठ १५ गतेसम्म अतिक्रमण हटाउन समयसीमा तोकेर सूचना जारी गरेका थिए । तर समयसीमा सकिए पनि अपेक्षित रूपमा अतिक्रमण हटाउने कार्य अघि बढ्न सकेको छैन । उक्त क्षेत्रमा करिब ९० हेक्टर वन क्षेत्र अतिक्रमण भई खेती तथा आवासका रूपमा प्रयोग भइरहेको जनाइएको छ ।
विन्ध्यवासिनी कोइलाभार साझेदारी वनका अध्यक्ष भोपाल रोकायका अनुसार केही प्राविधिक तथा व्यवस्थापकीय चुनौतीका कारण अभियान पूर्ण रूपमा प्रभावकारी बन्न सकेको छैन । वन क्षेत्र बीचमा बस्ती रहेको अवस्थाले पनि समस्या थपिएको उनले बताए ।
वन अतिक्रमण हटाउने अभियानमा आंशिक प्रगति देखिए पनि प्रभावशाली व्यक्तिहरूमाथि कारबाही नहुनु र विविध चुनौतीका कारण पर्साका धेरै वन क्षेत्र अझै अतिक्रमणमुक्त हुन सकेका छैनन् । स्थानीयवासीले भने सबै अतिक्रमणकारीमाथि समान र निष्पक्ष कारबाही गर्न माग गरेका छन् ।