काठमाडौँ । मलेसियामा जारी एसिसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग ६९ रनको पराजय बेहोरेको छ ।
कोलेज टुन्कु जाफर क्रिकेट ओभल मैदानमा शनिबार भएको खेलमा ११० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४० रनमा समेटियो ।
नेपालका लागि सोनी पाख्रिनले सर्वाधिक १२ रन र रुबिना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य खेलाडी दोहोरो अङ्कमा पुग्न सकेनन् । हङकङकी इकरा सहरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिइन् । चान का र मार्यम बिबीले २–२ तथा सिउ मेइ र जोइलिन धलिवालले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको थियो । हङकङका लागि यासमिन दसवानीले अविजित ४२ रन, मारिको हिलले २९ रन र मारिना लाम्पलोहले अविजित १८ रन बनाए ।
नेपालका लागि बलिङमा रिया शर्मा र रुबिना क्षेत्रीले १–१ विकेट लिए ।
हारका बाबजुद नेपाल यसअघि नै क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ । अब क्वार्टरफाइनल खेलका विजेताले एसिसी महिला एसिया कपमा स्थान बनाउने छन् भने एसिया कपमा छनोट हुन सेमिफाइनल पुग्नुपर्ने प्रावधान रहेको छ ।