सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा आइतबार सम्पन्न खेलमा ओमानले प्रस्तुत गरेको ९४ रनको सामान्य लक्ष्य नेपालले मात्र ९.२ ओभरमा २ विकेट गुमाउँदै सहजै पूरा गर्यो ।
नेपालको जितमा लोकेश बमले विष्फोटक ब्याटिङ गर्दै २६ बलमा ७ चौका र १ छक्कासहित अविजित ४४ रनको महत्त्वपूर्ण इनिङ खेले । त्यस्तै कप्तान रोहितकुमार पौडेलले अविजित २१ रन र ओपनर कुशल भुर्तेलले २० रनको योगदान दिए । तेस्रो विकेटका लागि लोकेश बम र रोहित पौडेलबीच अविजित ६८ रनको साझेदारी भएको थियो ।
ओमानका लागि बलर समीर ओटमनले दुवै विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान नेपाली बलर सामु टिक्न नसक्दा १९.४ ओभरमा ९४ रनमै अलआउट भयो । ओमानका कप्तान सफ्यान मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबैर अल बलुशीले २२ र अब्दुल जाइलले १६ रन जोडे । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
नेपालका लागि करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २/२ विकेट हात पारे । शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।
नेपाल अब उपाधिका लागि हङकङ र मलेसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।