पोखरिया नगरपालिकास्थित नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा ५ सम्मका २१० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
पोखरिया बजरङ्ग युवा समाजको आयोजनामा सोमवार सम्पन्न कार्यक्रममा युवा नेता तथा समाजसेवी पवन गुप्ताको सहयोगमा विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, कटर र इरेजर वितरण गरिएको हो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । साथै, पोखरिया नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मण साह कानु, बजरङ्ग युवा समाजका कोषाध्यक्ष रमेश महतो, सदस्यहरू मनीष रौनियार र सुजन सहनी, विद्यालयका प्रधानाध्यापक शङ्करप्रसाद रौनियार, अभिभावक तथा स्थानीयवासीहरूको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले बालबालिकाको शैक्षिक विकास र सिकाइप्रतिको उत्साह अभिवृद्धिका लागि यस्ता सामाजिक अभियानहरू प्रभावकारी हुने बताएका थिए । सहभागी विद्यार्थी तथा अभिभावकहरूले पनि यस्ता सहयोगमूलक कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् ।
पोखरिया बजरङ्ग युवा समाजले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक गतिविधि निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।