प्रतिनिधिसभा बैठकमा बोल्ने समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले रोष्ट्रम घेराउ गरेका छन् ।
विपक्षी दलका तर्फबाट राप्रपा सांसद ज्ञानेन्द्र शाही ले धारणा राखेपछि सभामुख डीपी अर्याल ले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोजेका थिए । त्यसपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले विरोध जनाएका हुन् ।
हर्क साम्पाङले अन्य दलका सांसदलाई बोल्न समय दिइएको तर आफ्नो पार्टीलाई बोल्न नदिएको भन्दै सभामुखसँग प्रतिवाद गरेका थिए । त्यसको जवाफमा सभामुख अर्यालले श्रम संस्कृति पार्टीबाट बोल्न औपचारिक रूपमा समय नमागिएको बताएका थिए । केहीबेर भनाभन चलेपछि सभामुखले परराष्ट्रमन्त्री बोलिरहेका बेला पनि श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर अवरोध गरेको उल्लेख गर्दै बोल्न नदिने बताएका थिए । त्यसपछि हर्क साम्पाङसहितका सांसदहरू नाराबाजी गर्दै रोष्ट्रम घेराउ गर्न पुगेका थिए ।
सांसदहरूको विरोधबीच पनि सभामुख अर्यालले बैठकलाई कार्यसूचीअनुसार अगाडि बढाएका थिए ।