नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० अलराउन्डर वरीयतामा आफ्नो करियरकै सर्वाधिक रेटिङ हासिल गरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयता अनुसार दीपेन्द्र २५६ रेटिङ अंकसहित चौथो स्थानमा उक्लिएका हुन् । यसअघि उनी टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानसम्म पुगे पनि रेटिङ यति उच्च पुगेको थिएन ।
यो वरीयतामा जिम्बाबेका सिकन्दर राजा शीर्ष स्थानमा रहेका छन् भने भारतका हार्दिक पान्ड्या दोस्रो र पाकिस्तानका सइम अयुब तेस्रो स्थानमा छन् ।
त्यस्तै, टी–२० ब्याटिङ वरीयतामा नेपालका कुशल भुर्तेलले ६ स्थान सुधार गर्दै ६०औँ स्थानमा उक्लिएका छन् । उक्त सूचीमा भारतका अभिषेक शर्मा शीर्ष, ईशान किशन दोस्रो र पाकिस्तानका शाहिबजादा फरहान तेस्रो स्थानमा छन् ।
बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ९ स्थान सुधार गर्दै ४९औँ स्थानमा पुगेका छन् । यसैगरी, दीपेन्द्रसिंह ऐरी बलिङ वरीयतामा १५ स्थान सुधार गर्दै ६२औँ स्थानमा उक्लिएका छन् ।
बलिङतर्फ अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा छन् भने भारतका वरुण चक्रवर्ती दोस्रो र पाकिस्तानका अब्रार अहमद तेस्रो स्थानमा रहेका छन् ।