आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
क्यानडाको किंग सिटी मैदानमा नेपाली समयानुसार राति पौने ९ बजेदेखि खेल सुरु हुनेछ । यसअघि नेपालले पहिलो खेलमा आयोजक क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले हार भोगेको थियो । आजको खेलमा नेपाल जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रनेछ । यस श्रृंखलाअन्तर्गत नेपालले क्यानडासँग अर्को खेल यही असोज ६ गते र ओमानसँग ८ गते खेल्नेछ ।
त्रिकोणात्मक सिरिजमा नेपाल, ओमान र आयोजक क्यानडा सहभागी छन् । एकदिवसीय त्रिकोणात्मक श्रृंखला यही असोज १० गतेसम्म सञ्चालन हुनेछ। यो खेल सकिएपछि यी तीन टोलीबीच टी–२० श्रृंखलाअन्तर्गतको खेल पनि हुनेछ ।
त्यसपछि नेपाली टोली लिग दुईको अर्को त्रिकोणात्मक श्रृंखला खेल्न अमेरिका जान तयारी गर्दैछ, नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।