जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटहरूले गत जेठ महिनामा तस्करी नियन्त्रण, अपराध अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा उल्लेखनीय सफलता हासिल गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालको निर्देशनमा सञ्चालित अभियानअन्तर्गत एक महिनाको अवधिमा १ करोड ४३ लाख ५८ हजार ९८५ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमद्वारा जारी प्रेस विज्ञप्तिअनुसार तस्करीमा संलग्न एक जना व्यक्ति तथा तीन वटा सवारी साधन समेत नियन्त्रणमा लिइएको छ ।
एक महिनामा ११९ मुद्दा दर्ता
जेठ महिनाभर जिल्लामा कुल ११९ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये ज्यानसम्बन्धी १३, आत्महत्या २६, चोरी २, संगठित तथा आर्थिक अपराध ३०, सामाजिक अपराध १७, महिला तथा बालबालिकासम्बन्धी १२, सवारी ज्यान ५ तथा अन्य १४ वटा रहेका छन् ।
जघन्य तथा गम्भीर अपराधअन्तर्गत कर्तव्य ज्यान १, हातहतियार १, बैंकिङ कसुर २४, हुण्डी १ र ठगी ५ गरी कुल ३२ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
१७० फरार प्रतिवादी पक्राउ
प्रहरीका अनुसार जेठ महिनामा दर्ता भएका ६५४ वटा ठाडो उजुरीमध्ये ५३७ वटा फर्छ्योट भएका छन् भने ११७ वटा उजुरीमाथि अनुसन्धान जारी छ ।
फैसला कार्यान्वयन अभियानअन्तर्गत १७० जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट १० वर्ष ७ महिना १९ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने ३४ लाख ७३ हजार १२० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रणमा उपलब्धि
लागुऔषध नियन्त्रण अभियानअन्तर्गत तीन वटा मुद्दा दर्ता गरी चार जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरूबाट १८९ किलो ५५ ग्राम गाँजा तथा ६ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
घरेलु हिंसा र मिटरब्याजका उजुरी फर्छ्योट
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी १६० वटा उजुरी प्राप्त भएकोमा घरेलु हिंसासम्बन्धी ४२ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ४३ वटा उजुरी फर्छ्योट भइसकेका छन् भने ८ वटा घटनामाथि अनुसन्धान जारी रहेको छ ।
त्यस्तै, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी सात वटा मुद्दा फर्छ्योट गर्दै पीडितलाई २६ लाख ८५ हजार रुपैयाँ नगद तथा ७ कठ्ठा १५ धुर जग्गा फिर्ता गराइएको प्रहरीले जनाएको छ ।
ट्राफिक कारबाहीबाट ९ लाख राजस्व
एक महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५९ सवारी साधनलाई कारबाही गर्दा ९ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
उक्त अवधिमा जिल्लामा ८२ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएका छन् ।
जनचेतना र सुरक्षा गस्तीमा सक्रियता
जेठ महिनाभर प्रहरीले ९२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी १ हजार ७१५ जनालाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको जनाएको छ । विद्यालय केन्द्रित १४ वटा कार्यक्रममा ६७५ विद्यार्थी सहभागी भएका थिए ।
सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रहरीले ५८१ मोबाइल गस्ती, ४७१ पैदल गस्ती, १ हजार ग्रामीण गस्ती लगायत कुल ६ हजार १२० वटा विभिन्न सुरक्षा गस्ती सञ्चालन गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण, अपराध अनुसन्धान तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।