सप्तरीमा ११ वर्षअघि अपहरण गरी हत्या गरिएको घटनामा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सुरुङ्गा नगरपालिका–९ निवासी ६९ वर्षीय दाउद मियाँ र सिरहाको लहान नगरपालिका–११ निवासी ६२ वर्षीय नसिर भनिने वसिर मियाँलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रुपक खड्काका अनुसार सुरुङ्गा नगरपालिका–९ निवासी ६२ वर्षीय एनुल मियाँको २०७२ साल भदौ २९ गते हत्या गरिएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दाउद मियाँ र वसिर मियाँबारे प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी सार्वजनिक गरेको हो ।
प्रहरी अनुसन्धानअनुसार २०७२ साल भदौ २९ गते साँझ करिब ७ बजे आफ्नै घरमा बसिरहेका एनुल मियाँलाई दुवै अभियुक्तले अपहरण गरी बलान खोला नजिकको पैनी क्षेत्रमा लगेका थिए। त्यहाँ पानीमा डुबाएर मुख थुनी हत्या गरेको खुलेको प्रहरीको भनाइ छ ।
घटनापछि दुवै अभियुक्त फरार रहेका थिए। लामो समयको खोजीपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दाअन्तर्गत सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् ।