मधेश प्रदेशका महिला राजनीतिकर्मी तथा जनप्रतिनिधिहरूले महिला नेतृत्वसँग सम्बन्धित मुद्दा, गतिविधि र उपलब्धिलाई सञ्चारमाध्यमले पर्याप्त महत्व दिनुपर्ने बताएका छन् ।
मिडिया एड्भोकेसी ग्रुप (म्याग) द्वारा जनकपुरधाममा आयोजित महिला राजनीतिकर्मी र सञ्चारकर्मीबीचको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले महिला आवाजलाई प्रभावकारी रूपमा जनतामाझ पु¥याउन सञ्चारमाध्यमको भूमिका अझ जिम्मेवार, समावेशी र संवेदनशील हुनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा वक्ताहरूले शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, सामाजिक न्याय तथा स्थानीय विकासजस्ता विषयमा महिलाले निरन्तर आवाज उठाउँदै आए पनि ती विषयले सञ्चारमाध्यममा अपेक्षित स्थान नपाउने गरेको गुनासो गरेका थिए । सहभागीहरूले महिलासम्बन्धी समाचारलाई औपचारिक कार्यक्रम वा गतिविधिमा मात्र सीमित नगरी नीति निर्माण, नेतृत्व क्षमता, संघर्ष र उपलब्धिलाई समेत प्राथमिकताका साथ प्रस्तुत गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशसभा सदस्य जीवछी यादवले लोकतान्त्रिक समाजमा महिला नेतृत्वलाई सशक्त बनाउन सञ्चारमाध्यम र महिला राजनीतिकर्मीबीच संवाद तथा सहकार्य सुदृढ हुनुपर्ने बताउनुभयो । उहाँले महिलाले जनसरोकारका विषयमा गरेका काम र उठाएका मुद्दा प्रभावकारी रूपमा जनतासम्म पुग्न सके महिला नेतृत्वप्रति सकारात्मक धारणा विकास हुने र राजनीतिक सहभागिता अझ मजबुत बन्ने धारणा राख्नुभयो ।
प्रदेशसभा सदस्य यादवले प्रदेश सरकारमा महिला मन्त्रीको अभाव, महिलामाथि हुने राजनीतिक विभेद तथा संसदमा उठाइएका विषयलाई सञ्चारमाध्यमले अपेक्षित महत्व नदिएको गुनासो गर्नुभयो । महिलाहरू सार्वजनिक जीवनमा सक्रिय बन्दै गइरहेका बेला उनीहरूलाई निरुत्साहित गर्नेभन्दा प्रोत्साहन गर्ने वातावरण आवश्यक रहेको उहाँको भनाइ थियो ।
जनकपुरधाम उपमहानगरपालिका–८ की दलित महिला सदस्य मुन्नीदेवी दासले महिला जनप्रतिनिधिका सकारात्मक कामभन्दा नकारात्मक पक्षलाई बढी प्रचार गरिने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले महिलाले उठाएका महत्वपूर्ण विषय र गरेका रचनात्मक कामलाई गम्भीरतापूर्वक सार्वजनिक बहसमा ल्याउन सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।
अर्की वडा सदस्य सिर्जना न्यौपानेले सामाजिक धारणा र आलोचनाको डरका कारण धेरै महिलाहरू अझै पनि सञ्चारमाध्यमसँग खुलेर संवाद गर्न हिच्किचाउने गरेको बताउनुभयो ।
नेकपा (एमाले) नेतृ विजेता झाले पत्रकारिता क्षेत्रमा राजनीतिक निकटताका कारण निष्पक्ष समाचार सम्प्रेषणप्रति शंका उत्पन्न हुने अवस्था रहेको उल्लेख गर्दै स्वतन्त्र र निष्पक्ष पत्रकारिताको आवश्यकता औँल्याउनुभयो ।
त्यस्तै, नेपाली कांग्रेसकी नेतृ सम्झना बर्माले लामो समयदेखि राजनीतिमा सक्रिय रहे पनि अवसरबाट वञ्चित हुनुपरेको गुनासो गर्दै उम्मेदवारी वितरणमा हुने विभेद तथा मधेश आन्दोलनमा योगदान दिएका महिलाका विषयलाई पनि निष्पक्ष रूपमा उठाउन आग्रह गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष मनिका झाले महिला राजनीतिकर्मी र सञ्चारकर्मीबीच विश्वासको कमीले दूरी बढाएको बताउँदै दुवै पक्षबीच संवाद र सहकार्य बढाउनुपर्ने धारणा राख्नुभयो ।
पत्रकार अजय झाले लैङ्गिक समानतालाई ध्यानमा राखेर समाचार सम्प्रेषण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै राजनीतिकर्मीहरू पनि आफ्ना विषयवस्तु सञ्चारमाध्यमसम्म पु¥याउन सक्रिय हुनुपर्ने बताउनुभयो ।
मिडिया एड्भोकेसी ग्रुपकी कार्यकारी निर्देशक बबिता बस्नेतले महिला राजनीतिकर्मी र सञ्चारकर्मीबीच समन्वय तथा सहकार्य अपरिहार्य रहेको बताउँदै महिलाका मुद्दा स्वयं महिलाहरूले पनि सशक्त रूपमा उठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी सञ्चारकर्मी तथा राजनीतिकर्मीहरूले आगामी दिनमा समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने तथा तथ्यपरक, सन्तुलित र समावेशी पत्रकारितामार्फत महिला नेतृत्वका मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाएका छन् ।
अन्तरक्रियामा मधेश प्रदेशसभा सदस्य अञ्जना पण्डितसहित विभिन्न राजनीतिक दलका महिला राजनीतिकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।