मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सडक दुर्घटनासहित जनधनको क्षति घटेको छ ।
रौतहट प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सडक दुर्घटनामा परी ६५ जनाको मृत्यु भएकोमा चालु आर्थिक वर्षको हालसम्म ४८ जनाको ज्यान गएको छ । सडक दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुधबार आयोजित ट्राफिक सप्ताह कार्यक्रममा बोल्दै रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले नियमित तथा छड्के जाँच प्रभावकारी बनेका कारण सवारी व्यवस्थापनमा सुधार आएको बताउनुभयो।
उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना र अनुशासन आवश्यक रहेको उल्लेख गर्दै सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरले प्रहरी प्रशासनलाई छलेर भित्री सडकमा हेल्मेट नलगाई तीव्र गतिमा मोटरसाइकल चलाउने, क्षमताभन्दा बढी भार बोक्ने तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने प्रवृत्ति अझै कायम रहेको कारण अपेक्षित परिणाम हासिल हुन नसकेको बताउनुभयो ।
उहाँले रौतहटमा विभिन्न आठ वटा कार्यालयमार्फत हाल ५० देखि ६० जना ट्राफिक प्रहरी कार्यरत रहेको जानकारी दिँदै सीमित स्रोतसाधनका बाबजुद सरोकारवाला सबै पक्षसँगको सहकार्यमा ट्राफिक व्यवस्थापन भइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार जिल्लामा भएका सडक दुर्घटनाको विश्लेषण गर्दा विद्यार्थी तथा युवा पुस्ता अझ बढी सचेत हुनुपर्ने देखिएको छ ।
त्यसैगरी, सीमावर्ती क्षेत्र तथा भित्री सडकमा भारतीय नम्बर प्लेटका सवारी साधनको आवागमन निरन्तर भइरहेकाले सवारी व्यवस्थापनमा केही चुनौती रहेको प्रहरीले जनाएको छ ।