राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेश प्रदेशमा पार्टीको जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न हुन नसकेको विषयमा मधेशका सांसदहरूसँग छलफल गर्नुभएको छ ।
बुधबार बिहान आयोजित छलफलमा मधेश प्रदेशका रास्वपा सांसदहरूले अधिवेशन प्रभावित हुनुका विभिन्न कारणबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए । छलफलमा सहभागी एक सांसदका अनुसार प्रदेश सभापति तपेश्वर यादव को कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरिएको थियो । संगठन सञ्चालनमा मनपरी गरिएको तथा जातीय राजनीतिलाई प्रश्रय दिएको आरोपसमेत केही सांसदहरूले लगाएका थिए। प्रदेश सभापति यादव भने उक्त छलफलमा सहभागी हुनुभएको थिएन ।
सांसदहरूले सदस्यता वितरण प्रक्रियामा देखिएका समस्याका कारण अधिवेशन प्रभावित भएको बताएका थिए । विशेषगरी अनलाइनमार्फत सदस्यता वितरण गर्ने प्रणाली मधेशको सन्दर्भमा प्रभावकारी हुन नसकेको धारणा उनीहरूले राखेका थिए । छलफलमा सहभागी एक सांसदका अनुसार अनलाइन सदस्यता भर्न नसक्ने व्यक्तिहरूको नाममा अरूले सदस्यता भरेर संगठन कब्जा गर्ने प्रयास भएको गुनासो सभापति समक्ष राखिएको थियो ।
त्यसैगरी निर्वाचनअघि पार्टीमा सक्रिय रहेका सदस्य र पछिल्लो समय सदस्य बनेकाबीच आन्तरिक विवाद देखिएको विषय पनि छलफलमा उठाइएको थियो । चुनावी अभियानमा सक्रिय भूमिका निर्वाह गरेका कार्यकर्ताभन्दा नयाँ सदस्यहरूलाई संगठनमा प्राथमिकता दिँदा विवाद उत्पन्न भएको सांसदहरूको भनाइ थियो ।हाल मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सामा मात्रै अधिवेशन सम्पन्न भएको छ । अन्य जिल्लाहरूमा अधिवेशन प्रक्रिया सुरु भए पनि नेतृत्व चयन हुन नसक्दा प्रक्रिया स्थगित भएको बताइएको छ ।
छलफलका क्रममा सभापति लामिछानेले मधेशका सबै जिल्लामा स्वयं उपस्थित भएर अधिवेशन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ । उहाँले सर्वसम्मत नेतृत्व चयनमा जोड दिँदै आवश्यक परे आफू सबै जिल्लामा पुग्ने बताउनुभएको सहभागी सांसदहरूले जानकारी दिएका छन् ।