बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले ट्राफिक नियमको पूर्ण पालना गरेर सडक दुर्घटनाबाट बच्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराको आयोजनामा बुधबार कलैयास्थित भरत चोकमा आयोजित ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रमअन्तर्गतको कोणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।मधेस प्रदेश ट्राफिक कार्यालय जनकपुर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, जिल्ला प्रशासन कार्यालय बारा तथा जिल्ला प्रहरी कार्यालय बाराको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मिश्रले हेल्मेट लगाएर मात्र मोटरसाइकल चलाउन आग्रह गर्दै पार्किङ व्यवस्थापन, ट्राफिक अनुशासन र सडक सुरक्षामा सबै पक्षको जिम्मेवारी रहने बताउनुभयो । उहाँले जथाभावी पार्किङ गर्ने, हेल्मेट नलगाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृत्तिले दुर्घटना बढाइरहेको उल्लेख गर्नुभयो ।
“हेल्मेट फुकालेर हिरो भइँदैन, हेल्मेट लगाएर कपाल बिग्रिँदैन,” भन्दै उहाँले सडक सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। कलैया उपमहानगरपालिकालाई व्यवस्थित र सुरक्षित सहरका रूपमा विकास गर्न सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । कार्यक्रमअन्तर्गत बालमन्दिर अगाडिबाट सुरु भएको जनचेतनामूलक र्याली कलैया बजार परिक्रमा गर्दै भरत चोक पुगेर कोणसभामा परिणत भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक दीपक केसीले गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा १ हजार १४७ सवारी दुर्घटना हुँदा ९३ जनाको मृत्यु तथा १ हजार ८८८ जना घाइते भएको जानकारी दिनुभयो । त्यसैगरी चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म १ हजार ११४ सवारी दुर्घटनामा ७० जनाको मृत्यु भएको तथा १ हजार ८५१ जना घाइते भएको उहाँले बताउनुभयो । मृत्यु हुनेको संख्या केही घटे पनि दुर्घटना र घाइतेको संख्या अझै उच्च रहेकाले सडक सुरक्षामा थप ध्यान दिनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।
प्रहरी निरीक्षक केसीले ८० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय लापरवाहीका कारण हुने गरेको उल्लेख गर्दै तीव्र गति, मादक पदार्थ तथा लागूऔषध सेवन गरेर सवारी चलाउने, हेल्मेट प्रयोग नगर्ने, चालक अनुमति पत्रबिना सवारी चलाउने तथा सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने कार्य दुर्घटनाका प्रमुख कारण रहेको बताउनुभयो । उहाँले सडक सुरक्षाका लागि नागरिक समाज, आमा समूह, क्लब, टोल सुधार समिति, यातायात व्यवसायी, मजदुर, शिक्षक तथा विद्यार्थीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्रकुमार साह, यातायात व्यवस्था कार्यालय बाराका प्रमुख चिन्तन आचार्य, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक सरोज निरौला, श्री रिपुमर्दन गणका प्रमुख सेनानी गिरिराज गौतम, जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक मीनबहादुर घले, सशस्त्र प्रहरी बल नम्बर १२ गणका निमित्त गणपति प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका सूचना अधिकारी नवराज न्यौपाने, जेन्जी एण्ड युथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेयलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ बारा शाखाका सहसचिव इन्दीप कोइरालाले गर्नुभएको थियो ।