मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले आफ्नै प्रहरी प्रशासन र कर्मचारी संरचना प्राप्त गर्न सके सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनका कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने बताउनुभएको छ ।
बिहीबार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सडक सुरक्षासम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले आवश्यक अधिकार र संरचनाको अभावमा प्रदेश सरकारलाई प्रभावकारी रूपमा काम गर्न कठिनाइ भइरहेको बताउनुभयो । उहाँले प्रदेश सरकार आफ्नै प्रहरी प्रशासन र कर्मचारी संरचनाविना अधिकारविहीनजस्तै बनेको उल्लेख गर्दै सङ्घीय शासन प्रणालीको कार्यान्वयनप्रति प्रश्नसमेत उठाउनुभयो।
मुख्यमन्त्री यादवले भन्नुभयो, “प्रदेशको प्रमुख विषय नै प्रदेश प्रहरी प्रशासन र कर्मचारी व्यवस्थापन हो । त्यसमा अधिकार नहुँदा प्रदेशले कसरी प्रभावकारी रूपमा काम गर्न सक्छ ? अहिले पनि सङ्घ सरकारले प्रदेशमाथि हुकुम चलाइरहेको अवस्था छ, तर अधिकारको पूर्ण हस्तान्तरण गरेको छैन ।”
उहाँले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक बजेट र अधिकारसमेत प्रदेश सरकारलाई पूर्ण रूपमा उपलब्ध नगराइएको भन्दै प्रदेशलाई ‘अधिकारविहीन’ बनाइएको टिप्पणी गर्नुभयो। सडक दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध भए पनि स्रोत, साधन र अधिकारको अभाव प्रमुख चुनौती बनेको उहाँको भनाइ थियो ।
कार्यक्रममा श्रम तथा यातायातमन्त्री शारदादेवी थापाले सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि अपरिहार्य रहेको बताउनुभयो । विद्यालय तहमा ट्राफिक नियमसम्बन्धी शिक्षा प्रदान गर्ने अभ्यास सकारात्मक रहेको उल्लेख गर्दै उहाँले महिला समूह तथा समुदायस्तरमा समेत सचेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंहले सडक सुरक्षासम्बन्धी विषयमा व्यापक बहस आवश्यक रहेको बताउँदै प्रमाणमा आधारित नीति निर्माण, सडक पूर्वाधार सुधार तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्य सुदृढ गर्नुपर्ने धारणा राख्नुभयो ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले ट्राफिक प्रहरीलाई प्रभावकारी रूपमा जिम्मेवारी प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पर्याप्त बजेट र अधिकारबिना ट्राफिक व्यवस्थापन प्रभावकारी हुन नसक्ने उल्लेख गर्दै उहाँले सडक दुर्घटनाका कारण पहिचान गरी नीतिगत सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्रालय मधेशका सचिव ओमराज ढुङ्गानाले सडक सुरक्षामा सुधार ल्याउन सबै सरोकारवाला निकायबीच सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो। मन्त्रालयका सहसचिव इन्जिनियर शुभराज न्यौपानेले सडक सुरक्षा विषयलाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिनुभयो ।
सहसचिव इन्जिनियर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद तथा अर्थ तथा योजना समितिका सभापति अनिता शाह, प्रदेश सांसद अन्जना पण्डित, स्थानीय जनप्रतिनिधि, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
एसियाली विकास बैंक (एडिबी), राष्ट्रिय सडक सुरक्षा परिषद् नेपाल तथा मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।