रौतहटकाे पश्चिमी क्षेत्रस्थित फतुवा विजयपुर नगरपालिकामा अज्ञात चोर समूहले सुरुङ्ग खनेर तीनवटा घरमा प्रवेश गर्दै लाखौं रुपैयाँ बराबरको नगद तथा सुनचाँदीका गरगहना चोरी गरेको छ ।
बुधबार राति फतुवा विजयपुर नगरपालिका–६ मोतिपुर टोलका रामप्रसाद यादव, तेजनारायण यादव तथा स्वर्गीय गजेन्द्र सहनीको घरमा चोरहरूले पालैपालो सुरुङ्गमार्फत प्रवेश गरी चोरी गरेको प्रहरीले जनाएको छ । परिवारका सदस्यहरू गहिरो निद्रामा रहेका बेला भएको घटनामा रामप्रसाद यादवको घरबाट नगद २ लाख ८० हजार रुपैयाँ तथा करिब २ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको सुनको मंगलसूत्र र हनुमानी चोरी भएको पीडित परिवारले जनाएको छ ।
त्यसैगरी, तेजनारायण यादवको घरबाट करिब २० हजार रुपैयाँ मूल्य बराबरका बालबालिकाले लगाउने तीन थान चाँदीका बाला चोरी भएका छन् । चोरहरू गजेन्द्र सहनीको घरभित्र समेत प्रवेश गरेका थिए। तर त्यहाँबाट कुनै सामान चोरी गर्न नसकेको स्थानीयवासीले बताएका छन् ।
घटनापछि बिहीबार बिहान इलाका प्रहरी कार्यालय विजयपुरको टोली घटनास्थल पुगेको थियो । वडा नं. ६ का अध्यक्ष राम एकवाल यादवका अनुसार ट्रंक तथा बाकसाका तालामा तोडफोडको स्पष्ट चिन्ह नदेखिएकाले चोरहरूले नक्कली चाबी प्रयोग गरेको हुन सक्ने आशंका गरिएको छ ।
घटनालाई थप रहस्यमय बनाउने अर्को पक्ष भनेको बुधबार दिउँसोदेखि गाउँनजिकै पाल टाँगेर बसेको १०–१२ जनाको घुमन्ते नेटुवा समूह रहेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार उक्त समूहका केही सदस्यले गाउँका घरघरमा पुगेर आफूहरू झाँक्री तथा तान्त्रिक भएको भन्दै सम्पर्क गर्न आग्रह गरेका थिए। सोही रात चोरी भएपछि स्थानीयस्तरमा उनीहरूप्रति शंका उत्पन्न भएको छ ।
यद्यपि प्रहरीले हालसम्म कसैको संलग्नता पुष्टि नभएको जनाएको छ । शंकास्पद गतिविधिका आधारमा सोधपुछका लागि नेटुवा समूहका तीन जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।