सर्लाही जिल्लामा पालिका, प्रदेश तथा सङ्घीय सरकारले करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरेका दर्जनौँ व्यापारिक तथा अन्य प्रयोजनका भवन प्रयोगविहीन अवस्थामा पुगेका छन् ।
लामो समयदेखि प्रयोगमा नआएका ती भवन कतै तोडफोड हुने अवस्थामा छन् भने कतै जीर्ण बन्दै गएको स्थानीयवासीले गुनासो गरेका छन् । २०८१ फागुन १२ गते तत्कालीन उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जिल्लाको प्रमुख बजार लालबन्दी नगरपालिका–७ स्थित साझा संस्थाको प्राङ्गणमा तामझामसहित उद्घाटन गरेको बहुउद्देश्यीय भवन अझैसम्म प्रयोगमा आउन सकेको छैन ।
संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनुषाले करिब ४ करोड ४१ लाख रुपैयाँ लागतमा निर्माण गरेको उक्त भवन प्रयोगमा ल्याउने विषयमा कुनै निकायले पहल नगरेको बताइएको छ । भवनको भुइँतलामा १७ वटा व्यापारिक सटर, पहिलो तलामा तीन वटा च्याम्बर कोठा तथा तेस्रो तलामा एक च्याम्बरसहित हल र शौचालयको सुविधा रहेको छ ।
लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष कृष्णकुमार कार्कीका अनुसार साझा संस्था र नगरपालिकाबीच भवन प्रयोगका विषयमा सहमति नजुटेकाले सञ्चालनमा समस्या देखिएको छ । उहाँले भन्नुभयो, “भवन बनेको जग्गा साझा संस्थाको भएकाले नगरपालिकाले प्रयोगसम्बन्धी निर्णय गर्न सकेको छैन ।” उहाँले भवन जुन उद्देश्यका लागि निर्माण गरिएको हो, सोहीअनुसार प्रयोगमा ल्याउन नसकिएको स्वीकार गर्नुभयो ।
त्यस्तै, लालबन्दी नगरपालिकाका वडा नं. ४, ७, ८ र १० लगायत स्थानमा निर्माण गरिएका अन्य व्यापारिक भवनहरू पनि प्रयोगविहीन रहेका छन् । नगर विकास कोषको ऋण सहयोगमा लालबन्दी नगरपालिका–७ डुमडुमेमा निर्माण गरिएको व्यापारिक कम्प्लेक्स पनि लामो समयदेखि अलपत्र अवस्थामा छ । करिब ६ करोड ४१ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको उक्त भवन भाडामा लगाउन नगरपालिकाले पटक–पटक सूचना जारी गर्दै आएको छ ।
यस्तै, छिमेकी हरिवन नगरपालिकामा पनि करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरिएका व्यापारिक भवन प्रयोगमा आउन सकेका छैनन् । हरिवन नगरपालिका–११ बजार क्षेत्रमा निर्माण गरिएका आठ वटा भवनमा १४६ वटा सटर रहेका छन् । उद्योग वाणिज्य सङ्घ हरिवनका अध्यक्ष प्रयागराज पोतेले भवनमा पानी, बिजुली र शौचालयजस्ता आधारभूत पूर्वाधारको अभावले व्यापारी बस्न नसकेको बताउनुभयो । उहाँका अनुसार बारम्बार ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले समाधानमा चासो नदिएको आरोप छ ।
हरिवन नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले भने केही सटर भाडामा लागिसकेको दाबी गर्दै बाँकी संरचना व्यवस्थित गरेर भाडामा लगाउने प्रयास भइरहेको बताउनुभयो । उहाँले भवन निर्माणकै क्रममा संरचनागत समस्या र कोभिड–१९ महामारीका कारण समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो ।
सर्लाहीका हरिपुर, ईश्वरपुर, बरहथवा, मलङ्गवा लगायतका पालिकामा समेत यस्तै प्रकृतिका भवनहरू प्रयोगविहीन अवस्थामा रहेका छन् ।
नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले आवश्यकताबिनै जथाभाबी भवन निर्माण गर्ने तर प्रयोगमा नल्याउने प्रवृत्ति गम्भीर समस्या भएको बताउनुभयो । उहाँले यसलाई अनियमितताको स्वरूप भन्दै नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार कतिपय क्षेत्रमा विद्यालयका कक्षाकोठा अभाव र स्वास्थ्य संस्थाको साँघुरो भवनका कारण सेवा प्रभावित भइरहेका बेला करोडौँका भवन अलपत्र पर्नु चिन्ताजनक विषय हो ।