जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत जेठ महिनामा जिल्लाभर भएका सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी गतिविधिको विवरण सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार उक्त अवधिमा जिल्लामा विभिन्न प्रकृतिका १ सय ११ वटा अपराधका मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये ज्यानसम्बन्धी १३, आत्महत्यासम्बन्धी २६, चोरीका दुई, सङ्गठित तथा आर्थिक अपराधका ३०, सामाजिक अपराधका १७, महिला तथा बालबालिकासम्बन्धी १२, सवारी ज्यानसम्बन्धी पाँच तथा अन्य १४ वटा रहेका छन् । आर्थिक अपराधअन्तर्गत बैंकिङ कसूरका २४, हुन्डी कारोबारसम्बन्धी एक तथा ठगीका पाँचवटा मुद्दा दर्ता भएका छन् । त्यस्तै, जघन्य तथा गम्भीर अपराधतर्फ कर्तव्य ज्यान र हातहतियारसम्बन्धी एक/एक वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीको तथ्याङ्क अनुसार जेठ महिनामा ४८ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतको फैसला कार्यान्वयन गर्दा पक्राउ परेकामध्ये १० वर्ष ७ महिना ११ दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको छ भने २४ लाख ७३ हजार १ सय २० रुपैयाँ जरिवाना असुल गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी क्षेत्रमा यस अवधिमा १६० वटा उजुरी प्राप्त भएका छन् । उमेर समूहअनुसार १८ वर्षमुनिका २०, १९ देखि २५ वर्षसम्मका ८२, २६ देखि ४० वर्षसम्मका ४३, ४१ देखि ५९ वर्षसम्मका ६ तथा ६० वर्षभन्दा माथिका एक जना पीडित रहेको विवरणमा उल्लेख छ । त्यसैगरी, जेठ महिनामा ४५ जना हराएको निवेदन दर्ता भएकामा ४१ जना फेला पारिएका छन् । हराएकामध्ये २३ महिला, दुई बालक, १९ बालिका तथा एक ज्येष्ठ नागरिक रहेका छन् । घरेलु हिंसासम्बन्धी उजुरीहरू पनि जिल्लाका विभिन्न स्थानीय तहबाट प्राप्त भएका छन्। अधिकांश उजुरीहरू मेलमिलापमार्फत समाधान गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षालाई प्राथमिकतामा राखी निरन्तर सक्रियता बढाएको जनाएको छ।