मधेस प्रदेशका नागरिक यतिबेला चर्को गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मार खेप्न बाध्य भएका छन् ।
अत्यधिक गर्मीका बेला बारम्बार हुने अघोषित विद्युत् कटौतीले जनजीवन कष्टकर बनेको छ भने नागरिकमा आक्रोशसमेत बढ्दै गएको छ । महोत्तरीको जलेश्वर नगरपालिका–२ का जानकी साहले पटक–पटक विद्युत् कटौती हुँदा दिक्क भइसकेको गुनासो गर्नुभयो । “वितरण केन्द्रमा फोन गर्दा प्राविधिक समस्या देखाउँदै मर्मत भइरहेको एउटै जवाफ मात्र आउँछ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार मधेसमा हरेक वर्ष गर्मीयाममा यस्तै समस्या दोहोरिने गरेको छ। नियमित विद्युत् आपूर्ति कहिलेदेखि हुन्छ भन्नेबारे स्पष्ट जानकारी नपाइएको उहाँको भनाइ छ । जलेश्वर–३ का राजु पाण्डेले प्राविधिक समस्या भए त्यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो। “नागरिकलाई अन्धकारमा राखेर प्राधिकरण जिम्मेवारीबाट पन्छिन मिल्दैन,” उहाँले भन्नुभयो ।
जलेश्वर–४ का सुरेश झाले विद्युत् कटौतीका कारण घरायसी कामकाज मात्र नभई व्यापार, स्वास्थ्य सेवा तथा दैनिक जीवनसमेत प्रभावित भएको बताउनुभयो । उहाँले नियमित मर्मतसम्भार, पूर्वसूचना प्रवाह तथा प्रभावकारी व्यवस्थापनको माग गर्नुभयो ।
विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीहरू गर्मीका कारण बढी प्रभावित भएका छन्। पङ्खा, कुलरलगायत विद्युतीय उपकरण सञ्चालन गर्न नपाउँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।
प्राधिकरणको भनाइ
उपभोक्ताको गुनासोबारे जलेश्वर वितरण केन्द्रका प्रमुख इन्जिनियर रोशनकुमार सिंहले समस्या वास्तविक रहेको स्वीकार गर्नुभयो । उहाँका अनुसार समस्या समाधानका लागि प्रयास भइरहे पनि स्थानीयस्तरमा केही व्यावहारिक कठिनाइ रहेका छन् ।
“हामी रौजामा ट्रान्सफर्मर जडान गर्न खोजिरहेका छौँ, तर स्थानीय सहयोग नपाउँदा काम प्रभावित भएको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार ३३ केभी लाइन विस्तार सम्पन्न भएपछि समस्या केही हदसम्म समाधान हुनेछ। बाटो विस्तारका कारण पनि कतिपय स्थानमा लाइन काट्नुपर्ने अवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो ।
अत्यधिक विद्युत् माग र हाल एउटै ३३ केभी स्रोतमा निर्भर रहनुपरेकाले समस्या देखिएको भन्दै अर्को स्रोत थपिएपछि विद्युत् आपूर्ति थप सहज हुने उहाँको दाबी छ ।
राजधानी जनकपुरधाममा पनि उस्तै समस्या
मधेस प्रदेशको राजधानी जनकपुरधाममा पनि अघोषित विद्युत् कटौती बढ्दै गएको भन्दै स्थानीयवासीले असन्तुष्टि जनाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–८ का रोशन राउतले बिना सूचना लाइन काट्ने प्रवृत्ति बढेको बताउनुभयो। वडा नं. १० का निकेश कर्णले पूर्वजानकारीबिना हुने विद्युत् कटौतीका कारण विद्युतीय उपकरण बिग्रिने जोखिम बढेको गुनासो गर्नुभयो ।
४ अर्बको सुधार परियोजना सुरु
मधेस प्रदेशमा हाल २३ वटा वितरण केन्द्रमार्फत विद्युत् सेवा प्रवाह भइरहेको छ । प्रदेशभरबाट अनियमित विद्युत् आपूर्तिबारे गुनासो बढेपछि नेपाल विद्युत् प्राधिकरणको मधेस प्रादेशिक कार्यालयले सुधार योजना अघि बढाएको जनाएको छ ।
मधेस प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियैत यादवले अत्यधिक गर्मीका कारण ट्रान्सफर्मर तथा अन्य उपकरणहरू तातेर बिग्रने समस्या बढेको बताउनुभयो । “मौसम प्रतिकूल छ र पुराना संरचनाले अत्यधिक लोड धान्न सकिरहेका छैनन्,” उहाँले भन्नुभयो ।
समस्या समाधानका लागि प्रदेशभर करिब ४ अर्ब रुपैयाँको लगानीमा ५ सय २५ वटा नयाँ ट्रान्सफर्मर जडान गर्ने परियोजना सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले उपभोक्ताका गुनासा सुन्न आफू राति १२ बजेसम्म कल सेन्टरमा रहने गरेको उल्लेख गर्दै विगतको तुलनामा विद्युत् सेवामा सुधार हुँदै गएको र आगामी दिनमा थप सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
करिब ६४ लाख जनसङ्ख्या रहेको मधेस प्रदेशमा विद्युत् सेवाको नियमितता उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसँग प्रत्यक्ष रूपमा जोडिएको छ। नागरिकहरूले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न तथा दीर्घकालीन समाधान खोज्न सम्बन्धित निकायसँग माग गरेका छन् ।