मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शनिबार जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित योग कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले योगाभ्यासले मानिसलाई स्वस्थ र निरोगी राख्ने भएकाले योग शिक्षालाई अनिवार्य बनाउनुपर्नेमा जोड दिए । दैनिक कम्तीमा एक घण्टा योग गर्नुपर्ने उल्लेख गर्दै उनले व्यस्त जीवनशैलीका बाबजुद स्वास्थ्यका लागि समय छुट्याउनुपर्ने बताए । योगले शारीरिक स्वास्थ्यसँगै सोच र विचारमा पनि सकारात्मक परिवर्तन ल्याउने उनको भनाइ थियो ।
कार्यक्रममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले पनि निरोगी जीवनका लागि नियमित योगाभ्यास आवश्यक रहेको बताउँदै यसको शिक्षालाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने धारणा राखे ।
पर्सास्थित भारतीय महावाणिज्य दूतावास र पतञ्जली योग समिति मधेस प्रदेश समितिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार चौधरीलगायतको सहभागिता रहेको थियो ।