सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित झिम पुल नजिकबाट स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामनगर गाउँपालिका–३ का २८ वर्षीय गुडु कुमार यादव र २४ वर्षीय रुपेश कुमार यादव रहेका छन् । उनीहरू म.प्र. ०५–००१ प ११०६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा मोटरसाइकल रोकी खानतलासी गर्दा उनीहरूको साथबाट उक्त रकम बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद रकममध्ये एक हजार दरका दुई हजार पाँच सय थान, पाँच सय दरका एक हजार तीन सय थान र एक सय दरका पाँच सय थान नोट रहेका छन् । बरामद रकमको कुल मूल्य ३२ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले रकम, मोटरसाइकल तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।