सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ मा जग्गा विवादका क्रममा गाडी तोडफोड तथा प्रहरी कार्यालयमा हुलहुज्जत गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला अदालत सर्लाहीले कालिका उप्रेतीको निर्विवाद हकभोग तथा स्वामित्व रहेको जग्गामा भोगचलन गर्न नरोकिने आदेश दिएपछि उप्रेती आफ्नो जग्गा भोगचलन गर्न पुगेका थिए । सो क्रममा केही व्यक्तिले अवरोध गरेपछि शान्ति सुरक्षाका लागि छलफल गर्न इलाका प्रहरी कार्यालय केशरगञ्ज पुगेका बेला उप्रेतीको सवारी साधन तोडफोड गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै इलाका प्रहरी कार्यालय केशरगञ्जको मुख्य गेट तोडफोड गर्ने प्रयाससमेत गरेका थिए ।
घटनामा संलग्न रहेको आरोपमा बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–११ घर भई हाल ईश्वरपुर–१५ सुकनाहामा बसोबास गर्दै आएका ३२ वर्षीय विनोद कडेरिया, ६२ वर्षीय जयप्रसाद गौतम र उनका ३६ वर्षीय छोरा उज्ज्वल गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
उनीहरूमाथि आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरी असार २ गतेदेखि लागू हुने गरी ६ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।