महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने घोषणा गरेको छ ।
नगरपालिकाको १८औँ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमार्फत बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।
नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी नगर क्षेत्रका २० वर्ष उमेर पूरा गरेर विवाह गर्ने प्रत्येक छोरीलाई ५१ हजार रुपैयाँ प्रोत्साहन उपलब्ध गराइने बताए ।
उनका अनुसार यस व्यवस्थाले बालविवाह निरुत्साहित गर्न, कानुनी उमेर पुगेपछि विवाह गर्नुपर्ने सन्देश प्रवाह गर्न तथा सामाजिक सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
यसअघि २०८० चैत ५ गते नगरपालिकाले मुसहर समुदायलाई लक्षित गर्दै उमेर पुगेपछि विवाह गर्ने जोडीलाई ५० हजार रुपैयाँ प्रोत्साहन दिने कार्यक्रम ल्याएको थियो । नगरपालिकाको अभिलेखअनुसार हालसम्म बर्दिबास–१२ का एक जोडीले मात्र उक्त रकम प्राप्त गरेका छन् ।
नगरका सामाजिक तथा राजनीतिक कार्यकर्ता देवनारायण महतोका अनुसार मुसहर समुदायमा अझै पनि बालविवाहको समस्या विद्यमान रहेको देखिन्छ । प्रोत्साहन कार्यक्रमबाट अपेक्षित लाभ लिन नसक्नु त्यसैको संकेत भएको उनको भनाइ छ ।
१४ वडा रहेको बर्दिबास नगरपालिकाका १३ वटा वडा पछिल्ला दुई वर्षभित्र बालविवाहमुक्त वडा घोषणा भइसकेका छन् । बर्दिबास–१२ मात्र बालविवाहमुक्त घोषणा हुन बाँकी रहेको छ ।
नगरप्रमुख क्षेत्रीले आम समुदायका छोरीका लागि ५१ हजार रुपैयाँ प्रोत्साहनको नयाँ व्यवस्था लागू गरिए पनि मुसहर समुदायका पुरुष र महिला दुवैलाई प्रोत्साहन दिने पुरानो व्यवस्था यथावत् रहने स्पष्ट पारे ।
महिला अधिकारकर्मीहरूले नगरपालिकाको यो निर्णयले बालविवाह नियन्त्रण तथा सामाजिक सुधारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरेका छन् ।