करिब २० वर्षअघि भएको हत्या घटनाका एक फरार आरोपीलाई प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रसौनी गाउँपालिका–५ निवासी ४८ वर्षीय श्यामबाबु प्रसाद चौरसियालाई बारा जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार पठाइएको हो । प्रहरीका अनुसार २०६२ साल असोज ३ गते साविक मोतिसर गाविस–९ हाल कलैया उपमहानगरपालिका–१८ मोतिसर टोलका ४० वर्षीय सितलप्रसाद चौरसियाको हत्या भएको थियो । जग्गा सम्बन्धी पुरानो रिसइबीका कारण नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजबाट ड्युटी सकेर घर फर्किने क्रममा साविक प्रसौनी गाविस–५ हाल प्रसौनी गाउँपालिका–१ स्थित दुधौरा खोलाको बगरमा उनको हत्या गरिएको थियो ।
घटनाको अनुसन्धानका क्रममा श्यामबाबु प्रसाद चौरसियाले मृतकको घाँटी काटी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। लामो समयदेखि फरार रहेका उनलाई प्रहरीले जेठ १३ गते पक्राउ गरेको थियो । पक्राउ परेका चौरसियाविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी असार ५ गते बारा जिल्ला अदालतमा उपस्थित गराइएको थियो।
अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।