बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (नेरामावि) हरपुरमा विगत दुई महिनादेखि दिवा खाजा कार्यक्रम बन्द भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष र प्रधानाध्यापकबीचको विवादका कारण कार्यक्रम प्रभावित भएको हो । वैशाख महिनादेखि दिवा खाजा वितरण रोकिएपछि बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूको नियमित उपस्थितिमा उल्लेखनीय गिरावट आएको विद्यालय स्रोतले जनाएको छ । विद्यालयमा हाल ६ सय ३५ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ४ सय ०१ जना विद्यार्थी दिवा खाजा कार्यक्रमबाट लाभान्वित हुँदै आएका थिए ।
बिहान ६ बजेदेखि ११ बजेसम्म कक्षा सञ्चालन हुने विद्यालयमा खाजा नपाएपछि कतिपय विद्यार्थी मध्याह्नअघि नै घर फर्किने र पुनः विद्यालय नआउने गरेको शिक्षकहरूले बताएका छन् । उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि आवश्यक बजेट निकासा गरिसके पनि विद्यालयभित्रको आन्तरिक विवादका कारण कार्यक्रम सञ्चालन हुन नसकेको जनाइएको छ।
शिक्षिका निरु पुनका अनुसार दिवा खाजा कार्यक्रम बन्द भएपछि विद्यार्थीको उपस्थितिमा प्रत्यक्ष असर परेको छ । गर्मीका कारण भोकै विद्यालय आउने केही विद्यार्थीलाई चक्कर लाग्ने तथा बेहोस हुने अवस्था समेत देखिएको उनले बताइन् । त्यस्तै शिक्षक कृष्णकुमार दासले पनि खाजा कार्यक्रम बन्द भएपछि कक्षाकोठामा विद्यार्थी संख्या घटेको बताए । विशेषगरी विपन्न, दलित तथा मजदुर परिवारका बालबालिकाहरू यसबाट बढी प्रभावित भएका छन् ।
प्रधानाध्यापक रामनरेश यादवले विद्यालयमा अनुकूल वातावरण नबनेकाले खाजा कार्यक्रम सञ्चालन गर्न नसकिएको दाबी गरेका छन् । विद्यालय व्यवस्थापन समितिको बैठकमा पटक–पटक जानकारी गराउँदा पनि वडाध्यक्षबाट आवश्यक सहयोग नपाएको उनको आरोप छ। वातावरण सहज बनेलगत्तै कार्यक्रम पुनः सञ्चालन गरिने उनले बताए ।
उता, वडा नम्बर २४ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुल्तान अन्सारीले भने दिवा खाजा कार्यक्रम रोक्नु प्रधानाध्यापकको नियोजित कदम भएको आरोप लगाएका छन् । आफूले पटक–पटक खाजा वितरण सुचारु गर्न आग्रह गर्दा पनि प्रधानाध्यापकले बेवास्ता गरेको उनको भनाइ छ । विवादका कारण विद्यालयको समग्र शैक्षिक अवस्था प्रभावित भएको देखिएको छ । स्थलगत अवलोकनका क्रममा केही विद्यार्थीहरूले उपमहानगरपालिकाबाट वितरण गरिने निःशुल्क पोशाकसमेत नपाएको गुनासो गरेका छन् ।
यसैबीच, जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा महाशाखाले वडाध्यक्ष र प्रधानाध्यापकबीचको टकरावका कारण विद्यालय समस्याग्रस्त बनेको निष्कर्ष निकाल्दै नेतृत्व परिवर्तनमार्फत समस्या समाधानको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।