सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीस्थित एक घरमा भएको सशस्त्र डकैती घटनाले तराई क्षेत्रमा विगतमा सक्रिय आपराधिक समूहहरूको पुनः झझल्को दिएको छ ।
घटनामा संलग्न ११ जना प्रतिवादीलाई जिल्ला अदालत सिरहाले पुर्पक्षका लागि कारागार चलान गरेको छ । गत मंसिर ३ गते राति मुकेशकुमार सिंहको घरमा करिब ८–१० जनाको सशस्त्र समूह प्रवेश गरी डकैती गरेको थियो । हतियारधारी समूहले परिवारका सदस्यलाई नियन्त्रणमा लिई सुनचाँदीका गरगहना, नगद तथा अन्य बहुमूल्य सामग्री लुटेर लगेका थिए ।
प्रहरी अनुसन्धान अनुसार डकैतीमा भारतीय नागरिक तथा भारतीय सुटरहरूको समेत संलग्नता रहेको खुलेको छ । लुटपाटपछि समूह करिब २०–२५ मिनेटमै अर्को घरतर्फ जान लागेको अवस्थामा स्थानीय वीरेन्द्र महतो र उनका छोरा अनिलकुमार महतोले प्रतिकार गर्ने प्रयास गरेका थिए ।
प्रतिकारका क्रममा बद्री भनिने अजय पासवान र मोटु भनिने हिरालाल पासवानले कटुवा पेस्तोलबाट गोली प्रहार गरेका थिए । गोली वीरेन्द्र र अनिल दुवैको छातीमा लागेको भए पनि समयमै उपचार पाउँदा उनीहरूको ज्यान जोगिएको छ । घटना लगत्तै डकैती समूह भारततर्फ भागेको र पछि त्यहाँ पनि समान प्रकृतिका डकैती गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले विशेष सूचनाका आधारमा फागुन ६ गते सिरहा नगरपालिका–१३ स्थित सडक खण्डबाट लहानका लाल मोहम्मद अन्सारी, एकवाल मियाँ तथा भारतीय नागरिक मोहम्मद गुलाब अन्सारीलाई पक्राउ गरेको थियो । उनीहरूको डेराबाट कटुवा बन्दुक, गोली तथा ३० ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा एकवाल मियाँले ऋण तिर्नका लागि गिरोहमा संलग्न भएको बयान दिएका छन् । उनका अनुसार उनीहरू विभिन्न माध्यमबाट संगठित भएर कमला नदी किनार हुँदै भारतीय गिरोहसँग जोडिएका थिए र बेल्हाकट्टीमा डकैती गर्ने योजना बनाइएको थियो । प्रहरीका अनुसार डकैतीपछि लुटिएका सुनचाँदीका गहना लहानस्थित सुमिता ज्वेलर्समा बिक्री गरिएको समेत खुलेको छ। उक्त रकम गिरोहका सदस्यबीच बाँडफाँट गरिएको बयानबाट पुष्टि भएको छ ।
यसै समूहले भारतको लदनिया बजार क्षेत्रमा समेत डकैती गरेको र सो घटनामा भारतीय प्रहरीले एक अभियुक्तलाई पक्राउ गरिसकेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार अनुसन्धान प्रक्रिया चुनौतीपूर्ण भए पनि मुख्य अभियुक्तहरूको पहिचान तथा पक्राउपछि प्रगति भएको हो ।
हालसम्म ११ जना प्रतिवादी पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् भने प्रकाश पासवान, अजय पासवान, विजय पासवान, हिरालाल पासवान, हकिम मियाँ, दीपेन्द्र साह सोनार र अलाउद्दिन अन्सारीलगायत केही अभियुक्त अझै फरार रहेका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।